दार्चुला । दार्चुलामा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) तर्कराज पाण्डेयका अनुसार महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्र सिह महर,सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशन सिंह नगाल, २७ वर्षीय रमेश सिंह महर, ३० वर्षीय देव सिंह महर र ३८ वर्षीय रुकुम सिंह महर पक्राउ परेका छन्।
यस्तै मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्याम सिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालिका टोल बस्ने ३४ वर्षीय शंकर भूललाई पनि प्रहरीले ठगी आरोमा पक्राउ गरेको छ।
उनीहरूले सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको पाइएको दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिनुभयो ।
पक्राउ परेका नरेन्द्रसिंह महरले आफू सेनामा जागिर खाइरहेको र देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउँदै सेनामा जागरि लगाई दिने आश देखाएर सात जनालाई ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
डीएसपी पाण्डेयका अनुसार पक्राउ परेकाहरूको खाता नम्बर र ई–सेवामा रकम आएको पाइएको छ । उनीहरूमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया