दार्चुला । दार्चुला जिल्लाको समसामयिक विकास निर्माणका विषयमा दार्चुलाका स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग छलफल गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा मुख्य तीन विषयमा कुराकानी भएको भेटमा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो ।
महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सार्नेगरी तयारी भइरहेको सन्दर्भमा महाकाली नदी नियन्त्रण योजनाको कार्यालय दार्चुलाबाट अन्त सार्न नहुने विषयमा छलफल गरिएको बताइएको छ । यस्तै अपिहिमाल गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी जोड्ने सडकमा बजेट अभाव रहेको र उक्त सडकको डिपिआर सहित अर्थ मन्त्रालय पठाइएकोले आवश्यक बजेटको व्यवस्था गरिदिन माग गरिएको छ । नेपाली सेनाले निर्माण गरिरहेकाे दार्चुला-टिंकर सडकमा बजेट अभाव रहेकोले थप बजेटको व्यवस्थाका साथै बहुवर्षीय ठेक्का गरि चाडैं सडक निर्माण गरिसक्न अनुरोध गरिएको उहाँले बताउनुभयो । सबै विषयमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको भेटमा सहभागी नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री भेट्न प्रतिनिधिसभा सदस्य एबं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदशसभा सदस्य मानबहादुर धामी, बिक्रमसिंह धामी, लक्ष्मी विक, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा लगायत नेताहरू बालुवाटार पुगेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया