दार्चुला । दार्चुलामा आफ्नै शरिरमा मट्टितेल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालबाट धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । आइतवार बिहान सुनाले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो ।
आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया