दार्चुला । दार्चुलामा डेङ्गु संक्रमणका कारण एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-९ दत्तुस्थित राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरकाे डेङ्गु राेगकाे उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएकाे हो।
जेलिनालाई केही दिन पहिले ज्वराे आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । दार्चुला अस्पतालमा परीक्षण गर्दा डेङ्गु देखा परेपछि उपचार गरिएको थियो । घरफर्केपछि फेरि ज्वरोले च्यापेपछि उपचारकालागि भारतकाे पिथाैरागढ लगिएकाे थियाे । पिथौरागढमा समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतकै हलद्वानी रेफर गरिएको थियो । शनिवार उपचारका क्रममा हलद्वानीमा जेलिनाको मृत्यु भएको राष्ट्रिय मावि दत्तूका प्रधानाध्यापक राजेश सिह सामन्तले जानकारी दिनुभयाे ।
छात्रा जेलिनाको मृत्यु भएपछि राष्ट्रिय मावि दत्तूले आइतबार एक दिन साेक विदा समेत गरेको छ ।
दार्चुलामा सन् २०२३ सुरूभएयता अर्थात पछिल्लो १० महिनाको अवधिमा १९० जना डेङ्गु संक्रमित भएका छन् । चालू आर्थिक वर्ष सुरू भएयता साउनदेखि २१ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ कार्यालय दार्चुलाका खोप अधिकृत बिरेन्द्र भट्टले जानकारी दिनुभयो ।
दार्चुला डेङ्गु संक्रमणको उच्च जोखिममा रहेको छ । हिमाली जिल्ला दार्चुलाको व्याँसमा पछिल्लो समय डेङ्गु सार्ने लामखुट्टे समेत फेला परेको र उक्त लामखुट्टेबारे महेन्द्रनगरमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । केही वर्ष पहिले तराईका जिल्लामा मात्रै देखिने डेङ्गु पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लाहरूमा समेत देखा पर्न थालेको छ ।

तस्बिरः डेङ्गुले ज्यान गुमाएकी जेलिना चैसिर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया