दार्चुला । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । कँडेल एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी हुनुभएको हो ।
गएराति सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी हुनु भएको हो भने उहाँका प्रतिस्पर्धी रिजालले ४ सय ७७ मत पाउनु भयो । त्यसैगरी उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४ सय ५५ मत पाएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रिजाल समूहका विश्वराज बराल अनुपले ३ सय ६ मत पाउनु भयो ।
पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी बाँकेकी बसन्ती अधिकारीले ३ सय ५१ मत पाउनु भयो । यस्तै, सचिवमा लक्ष्मण आचार्य अस्ति सोमवार नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा चुनावमा ९ सय ६५ मत मात्रै खसेको थियो । अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकटका मानिन्छन । पदाधिकारीमा एक उपसचिव पूर्ण बुढामगरबाहेक अरु सबै राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया