दार्चुला । आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ ।
संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान नेपालको मूल कानुन हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण कानुनहरु निर्माण हुन नै बाँकी छन् । संविधानले अधिकार दिए पनि संघीय कानुन, कर्मचारी, प्रहरी जनशक्तिलगायत अभावले प्रदेशले राम्रो सेवाप्रवाह गर्न सकेका छैनन् । सिंहदरबारको शासन सत्तामा बसिरहेका दल आफ्नो शक्ति हातबाट फुत्कन नदिनका लागि अझै पनि जोडबल गरिरहेका छन् ।
संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकको दुःख र सास्ती अझै पनि उस्तै नै छ । संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुुत्ता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूको अनभूति आमनागरिकले अहिलेसम्म पनि गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
यसैबीच, संविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको दाबी पनि गर्नु भएको छ ।
संविधान दिवस भव्यताका साथ मनाइदै
सरकारले यस वर्ष पनि तीन दिन संविधान दिवस मनाइरहेको छ । सरकारले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । दार्चुलाका विभिन्न स्थानीय तहले समेत भव्यताका साथ संविधान दिवस मनाइरहेका छन् । जसअनुसार सबै जसो स्थानीय तहमा २ गते साँझ देखि दिप प्रज्वलन गरिएको छ ।
लेकम गाउँपालिकाले संविधान दिवस २०८० भव्यताका साथ मनाउने जनाएको छ । लेकम गाउँपालिका अन्तरगतका वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायत मातहतका सम्पूर्ण सार्वजनिक कार्यालयहरु, संघ संस्थालाई र व्यक्तिहरुलाई संविधान दिवस भव्यताका साथ मनाउन र संविधान दिवस विशेष कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिएको छ । दिवसको अवसरमा सबै कार्यालयमा झण्डा राख्न, सरसफाइ गर्न, दीप प्रज्वलन गर्न र विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न अनुरोध गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो । असोज ३ गते संविधान दिवसको दिन लेकम गाउँपालिकाको कार्यालय रातामाटामा संविधान दिवस समारोहको आयोजना गरिएकोले सबै नागरिक, जनप्रतिनिधि, कर्मचारीलाई सहभागिताका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
यसैबिच संविधान दिवसको अवसरमा लेकम गाउँपालिकाले शुभकामना आदानप्रदान, सहिद परिवार सम्मान तथा चियापान कार्यक्रम आयोजना गरेकोले सबै जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, शिक्षक, बुद्धिजिवि, विद्यार्थी, नागरिक समाज, पत्रकार लगायत आम लेकमवासीमा गरिमायम उपस्थितिका लागि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । नेपाल सरकारले समेत देशभर संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने र विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया