दार्चुला । आठ महिनायतामा सुदूरपश्चिममा ८७७ जनालाई डेंगुको सङ्क्रमण देखिएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेंगु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो। ‘तथ्याकअनुसार यहाँ गत माघ महिनायता ८७७ जनामा संक्रमण देखिसकेको छ’, उहाँले भन्नुभयो,‘तर पछिल्लो समय संक्रमण नियन्त्रण भइरहेको छ।’
यहाँ सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
यहाँ गत माघदेखि हालसम्म कैलालीमा ३७६, दार्चुलामा १९६, कञ्चनपुरमा १५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा ९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेंगुको सङ्क्रमण यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ। सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हातखुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ।
त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेंगु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताउनुभयो
वडा–वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायत काम चलिरहेको उहाँले बताउनुभयो। ‘स्थानीय तहसित मिलेर लार्भा खोजेर नष्ट अभियान पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ।’ उहाँले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिनुभयो। रासस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया