दार्चुला । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।
चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिक–१ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको प्रवक्ता शोभन अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने टेलिकमको विश्वास रहेको छ ।
नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया