दार्चुला । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबारदेखि विधिवत् समापन गरिँदैछ ।
आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । शनिबार अन्तिम दिन औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणबस अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।
यो समयमा पनि कारणबस सोह्रश्राद्ध गर्न नसकिएमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।