दार्चुला । दार्चुलाका विभिन्न स्थानमा परेको भिषण असिनापानीले तरकारी, फलफुल तथा बालीनालीमा ठूलो क्षति पु¥याएको छ । आइतबार (आज) साँझ पौने ५ बजेदेखि आधा घण्टा परेको ठूलो असिनापानीले पाक्दै गरेको फलफुल र तरकारीमा ठूलो क्षति पुर्याएको हो । असिना पानीका कारण लेकम गाउँपालिकामा मात्रै लाखौको फलफुल र तरकारी खेती नष्ट गरेको लेकम ५ पिर्तोलीका कृषक गोपालसिंह खत्रीले बताउनुभयो ।
पोलिहाउसमा समेत क्षति गरेको छ, उहाँले भन्नुभयो, काउली, बन्दा, ब्रो काउली, गोलभेडा लगायत बारीमा लगाएको तरकारी नष्ट भएको छ । पाकेको कागती र पाक्नै लागेको मौसमी, सुन्तला, हलुवाबेद लगायत तरकारी खेतीमा समेत ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । गाउँतिर सबै कृषकको सानो ठूलो गरेर लाखौँको तरकारी र फलफुलमा क्षति पुगेको उहाँको भनाई छ । खानका लागि तयारी हुँदै गरेको तरकारी र फलफुलमा व्यापक क्षति भएपछि उत्पादन घट्ने र आयस्रोत गुम्ने चिन्ता कृषकको छ । दार्चुलाका विभिन्न स्थानीय तहमा ठूलो क्षति भए पनि यकिन विवरण भने आएको छैन ।
विभिन्न पालिकामा परेको असिना पानीले सयौँ किसान प्रतक्ष प्रभावित भएका छन् । बाक्लो हिउँ परेस्तै असिनाले खेतबारी ढाक्दा ठूलो नोक्सानी व्यहोर्नुपरेको कृषकहरुको दुखेको छ । भित्र्याउन बाँकी रहेको अन्नबालीमा समेत क्षति पुगेको विभिन्न ठाउँबाट खबर प्राप्त भएको छ । असिनाले किसानलाई बर्सेनि दुःख दिने गरेको छ । कृषि बिमा समेत नभएकोले ठूलो नोक्सानि व्यहोर्नुपर्ने बाध्यतामा किसान छन् ।
क्षति र आवश्यकताअनुसार सम्बन्धित स्थानीय तह र सरोकारवाला कार्यालयहरुले असिनापीडित किसानलाई राहत दिनुपर्ने किसानहरुको माग छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।