दार्चुला । दार्चुलामा पनि केही दिन पहिलेदेखि दशैं विशेष सुरक्षा योजना लागु भएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत यसपालि पनि ट्राफिक नियम उल्लङघन, जुवातास र मापसे लगायत सम्भावित जोखिमका क्षेत्रमा निगरानी गरिने प्रहरीले जनाएको छ ।
दार्चुला सदरमुकाम खलंगा, शैल्यशिखरको गोकुलेश्वर र मार्माको लटिनाथमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । खलंगा पुलघाट सहित सबै सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सीमा क्षेत्र र भिडभाड हुने क्षेत्रमा हेल्प डेस्क सञ्चालनमा आइसकेको र आवश्यकताका आधारमा हेल्प डेस्कको संख्या बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सम्भावित जोखिमको नियन्त्रणको लागि दार्चुला जिल्लाभरी ३९० जना नेपाल प्रहरी परिचालन गरिएको छ ।
जिल्लाभरी नेपाल प्रहरी र सीमा क्षेत्रमा सशस्त्र प्रहरीले समेत सुरक्षा प्रदान गरिरहेको छ । चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर जिल्लाभरीमा ३९० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो । यसपालि पनि दशैं तिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवन लगायत अपराधिक गतिविधि नियन्त्रण प्राथमिकतामा राखेको छ, उहाँले भन्नुभयो, साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाइएको छ ।
आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलनमा सादा पोशाकमा समेत प्रहरी खटाउने र भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा सदरमुकाम र सहरी क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या गाउँघरमा गइरहेको छ । यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राखिएको छ ।
जसले यात्रुलाई सचेत गराउँछ । ठाउँठाउँमा छड्के जाँचको व्यवस्था समेत गरिएको छ । मानिसहरु दशैंका लागि गाउँघर जाने क्रम बढेसंगै दार्चुला सदरमुकाम खलंगासहित बजार क्षेत्रमा भिडभाड घट्दै गएको छ । शैक्षिक संस्था बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । फुुलपातीदेखि सरकारी कार्यालय समेत बन्द हुने भएकोले सदरमुकाम क्षेत्र सुनसान हुने गर्दछ ।
दशैंको समयमा गाडीमा धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको प्रहरीले जनाएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।