दार्चुला । आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा पनि फूलपाती भित्र्याइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ । आज किसानले खेतमा गइ चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।
घटस्थापनाको दिन सामुहिक जमरा राखिएको छ । नवरात्रा समेत जारी रहेकोले धार्मिक शक्तिपीठहरु तथा नवदुर्गाका मन्दिरहरुमा भक्तजनहरुको भीड लागिरहेको छ । नौँ दिनमा नवदुर्गाको बिभिन्न रुप अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । नवरात्राको सातौँ दिन आज फुलपाती छ ।
परदेशीएकाहरु गाउँघरमा पुगेसंगै छुट्टै रौनकता छाएको छ । यो पर्वले भेटघाट र सामाजिक सहिष्णुताको अभिबृद्धिमा समेत ठूलो योगदान पुर्याएको स्थानीयहरु बताउछन् । अधिकासं पुरुषहरु गहुँ छर्ने र महिलाहरु खर काट्ने चटारोका बिच पनि दशैँ मनाइरहेका छन् । दशैँ भएका घरमा खुसियाली छाएको छ ।
आजदेखी सरकारी कार्यालय र बित्तिय संस्थाहरुमा समेत विदा दिइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया