इजरायलमा मारिएका दिपेश र लोकेन्द्रको सपना महाकालीमा बिलयी, परिवारमा सन्नाटा

दार्चुला । इजरायलमा मारिएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ टकना घर भइ कञ्चनपुर बस्दै आएका दिपेशराज बिष्ट र मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथका लोकेन्द्रसिंह धामीको सपना महाकाली नदीमा बिलयी भएको छ । हमास समुहको आक्रमणमा परी मारिएका दार्चुलाका दिपेश विष्ट र लोकेन्द्र धामीको सोमबार (आज) महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । दिपेशको कञ्चनपुरस्थित महाकालीमा अन्तेष्टी गरियो भने लोकेन्द्रको दार्चुला उकुस्थित महाकाली नदी किनारमा अन्तेष्टी गरिएको छ ।

मृतक बिष्ट र धामीको सोमबार बिहान धार्मिक परम्पराअनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको पारिवारजनले बताएका छन् । दुबैजनाको इजरायबाट आइतबार विहान मात्रै काठमाडौं शव ल्याइएको थियो । बेलुकी नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी शव ल्याइएको भएपनि बिष्टको आइतबार सेती अस्पतालमै शव राखिएको र सोमबार बिहानै भीमदत्त नगरपालिका–१५ निम्बुखेडास्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट शव यात्रा निकालिएको थियो । धामीको भने मालिकार्जुन गाउँपालिकाले पठाएको शववाहनमार्फत गाउँमै शव ल्याएर उकु चिहानमा अन्तेष्टी गरिएको हो ।

बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दीपेश र लोकेन्द्रको इजरायलमा मारिएको १६ औँ दिनमा महाकालीमा अन्त्येष्टि गरिएको छ । दुबैजनाको सपना महाकाली नदीमै अन्त्य भएको छ । गत २० असोजमा हमास समूहले इजरायलमा हमला गरेको थियो । सोही हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विष्ट र धामीसहितका १० विद्यार्थीको मृत्यु भएको थियो ।

हमास समूहको हमलामा परेर मृत्युवरण गरेका सुदूरपश्चिम विश्वविद्यालय बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टन गर्न गएका सुदूरपश्चिमका सात विद्यार्थीले ज्यान गुमाएका छन् भने एकजना विपिन जोशी अझै बेपत्ता रहेका छन् । २७ भदौँमा ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय टीकापुर क्याम्पसका ४९ जना विद्यार्थी त्यहाँ गएका थिए । मातृभूमि छाडेको महिना दिन नपुग्दै विद्यार्थी र परिवारजनका लागि अकल्पनीय घटना भएको थियो ।

लेकम गाउँपालिका– ५ दार्चुलाका २४ वर्षीय दीपेशराज विष्टले बाल्यकालमै बाबु गुमाएपछि कञ्चनपुर महेन्द्रनगरमै बसेर अद्ययन गरेका थिए । आमा पार्वती विष्ट पहाडकै घर टकनामा बस्दै आउनुभएको थियो । दीपेशकी आमा लटिनाथ नमुना मावि रिठाचौपातामा शिक्षिका समेत हुनुहुन्छ । झण्डै दुई दशकपहिले ज्यान गुमाएका दीपेशराजका बाबु पनि मालिकार्जुन मावि धाप दार्चुलामा पूर्वशिक्षक थिए । बाबु गुमाएकाले उनको काँधमा अभिभावकत्वको पनि जिम्मेवारी थियो । भाइ वसन्तराज विष्टले छात्रवृत्तिमा धरान मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका छन् ।

मृतक दिपेश नर्सरीदेखि १० सम्म ग्लोबल एकेडेमीमा अध्ययन गरेर रेडियन्ट माविबाट आइएस्सी अध्ययन गरेर बिएस्सी एजी विषय अध्ययनका लागि टीकापुर गएका थिए । भीमदत्त नगरपालिका १५ निम्बुखेडास्थित कान्छाबाबु पुष्पराज विष्टको घरमा बस्दै आएका थिए । सानैका बाबु गुमाएका दीपेशराज लगनसिल एबं समझदार विद्यार्थी थिए । दिपेसका साथी नरेश जोशीका अनुसार ‘पढ्ने क्रममै उसको (दिपेस) स्वदेशमै लोकसेवा लड्ने सोच थियो, ‘दीपेशराजलाई विदेशभन्दा पनि स्वदेशमै केही गरूँ भन्ने सोच थियो, विदेशी भूमिमा गएर आफैँ बिलायो । परिवारकै आशा भरोसाको पात्रको मृत्युले परिवारमा यतिवेला बज्रपात मच्चिएको छ । दीपेशराज गुमाएको पीडाले विष्ट परिवारमा सन्नाटा छाएको छ ।

यस्तै हुनैनाथका लोकेन्द्र पनि मेहनती विद्यार्थी थिए । लटिनाथ माबि चौपाताबाट आइएस्सीएजी गरेर बिएस्सी एजी विषय अध्ययनका लागि टीकापुर गएका धामी पनि ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टन गर्न इजरायल गएका थिए । परिवारकै भरोसाका पात्र धामीको निधनले धामी परिवारमा बज्रपात परेको छ । अबोध छोराछोरी, कलिलै उमेरकी श्रीमती र परिवारजनमा सहिनसक्नुको पिडा परेको छ । परिवारका लागि मात्र हैन समाजको लागि समेत योगदान गर्नसक्ने क्षमता भएका युवा विद्यार्थी धामी र बिष्टको मृत्युले ठूलो क्षति पुगेको उनका आफन्त र शुभचिन्तकहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?