दिपक खाती, दार्चुला । दशैँ मनाएर गाउँबाट सदरमुकाम खलंगा फर्किदा भारतको धारचुला बजारमा पत्रकार मनोज बडू र सुदूरपश्चिमका पर्यटकिय सम्भावनाको प्रचारप्रसार गर्न पर्यटकिय क्षेत्र एवं हिमालको फोटो खिच्दै हिड्ने साथी हिमालय भट्ट सित भेट भयो । सामान्य कुराकानी पछी हिमालयले भोलि सिद्ध टोपी घुम्न जादैछौ भनेपछि मैले फ्याट्ट भनिहाले म नि तयार हुन्छु ।
हुनत म सिद्ध टोपी नगएको होइन तर सिद्ध टोपी ठाउँ नै यस्तो छ कि त्यँहाको प्राकृतिक सौन्दर्यता र त्यो क्षेत्रबाट देखिने सेताम्य हिमशृङ्खलाले मान्छेलाई लोभ्याईरहन्छ । यसपटकको सिद्ध टोपी भ्रमण मेरो लागि दोस्रो भ्रमण थियो । मन मिल्ने आत्मीय मान्छेहरु सित प्राकृतिक सुन्दरताले भरिपुर्ण एवं धार्मिक क्षेत्रको यात्रा रमणीय र अविस्मरणीय हुने भएकाले म दोस्रोपटक सिद्ध टोपी भ्रमणको लागि उत्साहित हुँदै कार्तिक ११ गते दिउँसो खलंगा सदरमुकाम बाट मनोज दाई, हिमालय र भारत धारचुला खेलाका नरेश धामी गाडी चडेर हिकिला गयौं, त्यो दिन हिकिलाको छिपुलथानमा रहेको गगन धामी जिको होटलमा बस्यौँ त्यही भेटिए हिकिलाका स्थानीय साथीहरू दुर्गेश र दिनेश । हामिहरु सिद्ध टोपी जानेभनेपछी उनिहरुपनी जान तयार भए । दोस्रो दिन सुर्योदय हुनु अगावै बिउँझेर मनोज दाइ र म हिकिलाको पौराणिक पानीधारा चेरमथी गएर स्नान गर्यौ र मनोज दाइ आफ्नो मामा घरमा नास्ता खाएर आए भने म, हिमालय र नरेश जि मेरा हिकिला हेकातिका मित्र ओभरसियर दिलानन्द जोशीको घरमा खिचडी खाएर बिहान ९ बजे हिकिला बाट सिद्ध टोपिको बेस क्याम्प थाईसैन पुग्ने गरि पाईला अगाडि बढायौँ ।
साझ सिद्धटोपी बेस क्याम्प थाईसैन बास बस्नुपर्ने भएकाले हामी हिकिला बाट कम्दाको उकालो हुँदै मुर्कोट माथिबाट थाईसैन गयौं । मुर्कोट भन्दा थाईसैन सम्म गोरेटो बाटो निर्माण गरिएको छ । उकालो जादा जति जति सास फुलेर आउथ्यो त्यो भन्दा बढी उकालो चढ्दै जादा देखिने सुन्दर हरियाली बन पाखाले मन प्रफुल्ल बनाउथ्यो । बाटोमै भेटिए थाईसैनमा रहेको सिद्धटोपी कटेजका साथीहरू हिमालय जि ले पहिल्यै फोन गरेर त्यहाँ बस्ने जानकारी गराएको थियो । करिब ६ घण्टा पैदल हिडेपछी दिउँसो ३ बजेतिर पुग्यौं सिद्धटोपी बेसक्याम्प थाईसैन । सुर्यले डाडा काट्नै लागेको बेला आकाशमा क्षितिजसम्म सुर्यका पहेला लामा किरणहरु लम्पसार परेर थाईसैनको सिद्धटोपी कटेजबाट दिउँसो सेताम्य देखिने हिमचुली पहेँला देखिएको त्यो दृश्य अदभूत थियो ।

ग्राहकलाई देवता झै मानेर स्वागत गर्ने सिद्धटोपी कटेज
दुँहु गाउँपालिकाको सदरमुकाम हिकिलाबाट उकालो हिडेपछी बाटोमा थकान मेटाउदै जादा करिब ५/६ घण्टाको समयमा पुगिन्छ थाईसैन समुद्री सतहबाट झण्डै ३००० मिटरको उचाईमा रहेको र यातायातको पहुँच नपुगेको भौगोलिक रूपमा विकट रहेको थाईसैन जस्तो ठाउँमा काठैकाठको सफा सुग्घर चिटिक्कको कोठा, आगन, पक्की सौचालय, चिसो तातोपानी सहितको आवास गृह त्यसमाथि ग्राहकलाई देवता मान्ने संस्कार भएको होटेल मैले दार्चुलाको थुप्रै हिमाली क्षेत्रको यात्रामा कतै देखेको छैन । पर्यटन प्रबर्द्धनको लागि पर्यटकिय क्षेत्रको सुन्दरता संगै त्यस क्षेत्रका स्थानीय एवं व्यवसायीहरुको व्यवहार, संस्कारले पनि ठुलो प्रभाव पार्छ । भारतमा ट्राभल ऐजेन्सी व्यवसायी समेत रहेका नरेश धामी सिद्ध टोपी कटेजको व्यवस्था र संस्कार देखेर अर्कोपटक भारतीय पर्यटकहरु लाई घुम्न जाउ भन्छु भन्न थाले ।
हिमाली भेग त्यसमाथी कार्तिक हिउँदको सुरुवातको महिना भएकोले चिसो बढ्न थाल्यो साहुजी भान्सामा रातको खान पकाउन लागे हामीहरु आगनमा आगो बालेर आगोको ताप संगै गफिन थाल्यौं । अध्यारो–अध्यारो हुनै लाग्दा थाईसैनको उत्तरी क्षेत्रबाट जुनको झिल्को देखिने थाल्यो घुम्टो भित्र अनुहार लुकाएको बेहुलीले बिस्तारै घुम्टो हटाएझै डाडामाथी बिस्तारै आयो जुन । अघिल्लो दिन चन्द्र ग्रहण भएकोले दोस्रो दिन पुर्णिामाको पुरा जुन लागेको जुनेली त्यो रातको वातावरण निकै रमणीय थियो । कवि लाई कविता लेख्न, प्रेमी प्रेमिका हरुलाई प्रेमिल गफ गर्न त्यो जुनेली रातले जिस्काईरहे जस्तो लाग्थ्यो ।
रातको ८ बजेतिर खाना तयार भयो । तातोपानीले हात धोएर सबैजना भान्सामा खाना खान पस्यौँ । चिसोले हो या साहुनीको हात मिठो हो सबैले आफ्नै घरको भान्सामा आफ्नै आमाको हातले पकाएको खाना जस्तो मीठो लागेर सबैले टन्न खाना खायौं । मसिनो चामलको भात, राजिमाको दाल, त्यहीँ थाईसैनमा फलेको आलुको तरकारी, भाङको चटनी सम्झिदा पनि मुख रसाउने खाना खाएर १० बजेतिर सुत्यौ । दोस्रो दिन बिहानै ५ बजे साहुनीजीले तातोपानी, चिया र नास्ता तयार गरिदिनु भयो बिहानीको सुर्योदयको दृश्य र सिद्ध टोपी बाट देखिने हिमचुलीमा बिहानीको सुर्यको किरण पर्दाको दृश्य हेर्न र कैद गर्न हाम्रो टोली थाईसैन बाट सिद्ध टोपी लाग्यौं । सिद्ध टोपिमा खाने बस्ने कुनै होटल नभएकाले थर्मसमा तातोपानी, चिया र झोलामा नास्ता बोकेर हामी संगै सिद्धटोपीको उकालो लाग्यो सिद्धटोपी कटेजको साहुजी । सिद्ध टोपी घुम्न आउने आफ्नो होटेलमा आएका ग्राहकलाई होटलमा मात्रै नभएर सिद्धटोपी क्षेत्रमै चियानास्ता, तातोपानी बोकेर भएपनी सेवा दिने र आफै सिद्धटोपी घुमाउने सिद्धटोपी कटेजका साहुजी प्रति सबै आभारी भयौं ।

धरतिको स्वर्ग हो सिद्ध टोपी
सृष्टिकर्ता भगवान ब्रह्मासँग जोडिएको देवभूमी सिद्ध टोपी प्राकृतिक सौन्दर्यता र धार्मिक तथा सांस्कृतिक दृस्ठिकोणले धर्तीको स्वर्ग हो ।
दुहुँ गाउँपालिका वडा नम्बर २, नौगाड गाउँपालिका वडा नम्बर १ र ब्याँस गाउँपालिका वडा नम्बर ३ को सीमा क्षेत्र रहेको समुद्रि सतहबाट झण्डै ३९ सय मिटर अग्लो सिद्ध टोपी क्षेत्र त्यहाँ बाट देखिने प्राकृति सौन्दर्यको दृश्यले मात्रै नभई यो क्षेत्रमा रहेका तीन दह (ताल) का कारण पनि प्रशिद्ध छ । यो क्षेत्रमा पर्ने तीनवटै दहहरुको आ–आफ्नै धार्मिक मान्यता र किम्बदन्ती रहेको छ । सिद्ध टोपीको शिर भन्दा करिब ३ सय मिटर तल रहेको ब्रह्म दह, उक्त दहभन्दा करिब २ सय मिटर तल रहेको पासा दह र पासा दहभन्दा करिब ३ सय मिटर तल टोटे दह रहेको छ । यहाँ रहेका तीन दह र सिद्ध टोपीका कारणले मात्रै नभएर यो क्षेत्रको पूर्वी क्षेत्र नौगाड गाउँपालिकाको वडा नम्बर १ लक्सेरिमा भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्ये एक नागेश्वर ज्योतिर्लिङ्ग, पश्चिम क्षेत्रमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलामा भगवान ब्रह्माको मन्दिर रहेको छ भने उत्तरी क्षेत्रमा ब्याँस गाउँपालिकाको वडा नम्बर ३ सिनामा सिद्ध देवताको मन्दिर र देवताहरु कैलाश जादा स्नान गर्ने ब्रम्हदहको पानी जम्मा भएर बनेको तातोपानी तालको कारणले पनि धार्मिक हिसाबले पवित्र मानिन्छ ।
फेदमा भगवान शिवको नागेश्वर ज्योतिर्लिङ्ग, ब्रम्ह देवताको मन्दिर, सिद्ध मन्दिर र तातोपानी ताल रहेको सिद्ध टोपी लाई राक्षस र देवताबीच पासा खेल्ने ठाउँका रुपमा पनि चिनिन्छ । यो क्षेत्रका रहेका तीन ताल टोटे दह, पासा दह, ब्रम्ह दह तिनै तालहरु एक सय देखि ४/५ सय मिटरको दुरिमा रहेका छन् ।
सबैभन्दा तल पर्ने टोटे दह राक्षस तालका रुपमा चिनिन्छ । यो दहको पानी रातो देखिन्छ । टोटे दहभन्दा करिब ५०० मिटर उचाइमा पासा दह पर्छ । पासा दहको पानी कालो देखिन्छ । यो दहमा राक्षस र देवताहरुले श्रावण महिनामा पासा खेल्ने जनविश्वास र किम्बदन्ती छ । पासा दहभन्दा करिब १ सय मिटरको उचाई र सिद्ध टोपी मन्दिर बाट करिब ३ सय मिटर तल ब्रम्ह दह छ । ब्रम्ह दहको पानी सफा छ र निलो देखिन्छ ।

राक्षस र देवताहरुबिच लडाइ हुँदा राक्षसहरुले ब्रह्म दहलाई सानो बनाउन दहको उत्तरतिरबाट पहिरो झारेको र टोटे दहलाई सुकाउन ब्रह्माले उक्त दहको पानी धर्तीमा छिराएको किम्बदन्ती पनि रहेको छ । त्यसैले हिउँदमा टोटे दहको पानी सुक्ने र अन्य दुई दहको पानी नसुक्ने गरेको सिद्ध टोपी कटेजका साहुजी राजेन्द्र बडालले बताउनुभयो ।

धार्मिक महत्व बोकेको यो क्षेत्रमा श्रावण महिना र असोज महिनामा धुप बत्ति बाल्ने र पूजापाठ गर्ने भक्तजनहरुको यो क्षेत्रमा भिड लाग्ने गर्दछ ।
सिद्ध टोपीको सिर सिद्ध मन्दिर र दुहुँ गाउँपालिकाले बनाएको भ्यु टावर बाट देखिने प्राकृतिक सौन्दर्यता, अपी हिमालको छेउ, डडेल्धुरासम्मको भुभाग र भारत उत्तराखण्डमा पर्ने पञ्चाचुली हिमालको मनै लोभ्याउने दृष्यले सिद्ध टोपी पुग्ने जो कसैलाई पनि आनन्दित बनाउने गर्दछ भने सिद्धटोपीमा पुजापाठ गर्दा र ब्रम्ह दहमा स्नान गर्दा पाप पखालिने, मनोकामना पुरा हुने जन–विश्वास रहेको छ । प्राकृतिक सौन्दर्यताको आनन्द लिएर मन शान्त बनाउन र धार्मिक आस्थाले शिवको तपोभुमी सिद्ध टोपी दर्शन गर्न जिवनमा एक पटक सबैले पुग्नै पर्छ जस्तो लाग्छ । हिउँदमा हिउँले पुरै सिद्ध टोपी क्षेत्र ढाकिने र अत्यधिक चिसो हुने भएकाले वसन्त रीतुको आगमनको महिना चैत महिना देखि असोज कार्तिकको महिना सम्म सिद्ध टोपी घुम्न जादा राम्रो हुन्छ । असोज तिर सिद्ध टोपी जादा भिराला फाँटमा फुल्ने रंगिबिरिङगी सुगन्धित फूलहरुले पनि यो क्षेत्रमा पुग्ने नागरिकलाई आनन्दित बनाउनछ लाग्छ यो फुलै फुलको दुनियाँ हो ।

धार्मिक र प्राकृतिक पर्यटनको केन्द्र बनाउ सिद्ध टोपी
भगवान ब्रह्माको भूमि देवी देवता र राक्षसको क्रीडास्थलका रूपमा रहेको सिद्ध टोपी हिन्दु धर्मको छुट्टै महत्त बोकेको धार्मिक तिर्थ स्थल हो । तर विडम्बना प्रचारप्रसारको अभाव र सिद्ध टोपीमा आवस्यक पुर्वाधार निर्माणमा कसैले चासो नदिदा सिद्ध टोपी ओझेलमा जस्तै छ । सिद्ध टोपी पुग्ने अहिलेसम्म व्यवस्थित बाटो, पदमार्ग निर्माणमा कसैले ध्यान दिएको पाईएन । दुहुँ गाउँपालिकाको बिगतको सरकारले सिद्ध टोपिमा भ्यु टावर निर्माण गरेको र हिकिला देखि कम्दा हुँदै थाईसैन, सिद्ध टोपी सडक निर्माणकार्य सुरु गरेपनि अहिलेको सरकारले उक्त सडकमा बजेट बिनियोजन नगर्दा अलपत्र परेको छ । हिकिलामा रहेको ब्रम्हको मन्दिर दर्शन गरेर भिरालो फाटहरु हेर्दै सिद्ध टोपी जान धेरै सजिलो बाटो छ तर गाउँपालिकाले सडक बनाउन नसकेपनि मुर्कोट देखि सिद्ध टोपी सम्मको व्यवस्थित पदमार्ग, बाटोमा विश्रामस्थल, पानी धारा, सिद्ध टोपी सम्मै (यो ठाउँबाट यो ठाउँ यति कि.मि अगाडि पर्छ जस्ता) बाटोको सांकेतिक चिन्ह भएका होडिङ बोर्ड निर्माण गर्न सके सिद्ध टोपी घुम्न आउने जो कोहि पर्यटक दुहुँको हिकिलाको बाटो आउँछ साथै दुहुँ गाउँपालिकाले आफ्नै बजेटमा नभए पनि ब्याँस र नौगाड गाउँपालिकासंग समन्वय गरेर पनि सिद्ध टोपी क्षेत्रमा १ सय देखि ४/५ सय मिटरको दुरिमा रहेका तिनै वटै दह (ताल) जोड्ने टोटे दह बाट पासा दह र पासा दह बाट ब्रम्ह दह जोड्ने र ब्रम्ह दह बाट सिद्ध टोपीको मन्दिर सम्मको पदमार्ग निर्माण गर्न सके सुनमा सुगन्ध थपे झै प्राकृतिक रूपमा सुन्दर सिद्ध टोपि अझ आकर्षक र सुन्दर देखिन्थ्यो ।
शिवको नागेश्वर ज्योतिर्लिङको दर्शन गरेर सिद्ध टोपी आउने पर्यटको लागी नौगाड गाउँपालिकाले नागु देखि सिद्ध टोपी सम्म र सिद्ध देवताको दर्शन गरि ब्रम्ह दह बाट गएको तातोपानीमा स्नान गरेर सिद्ध टोपी आउने पर्यटको लागि ब्याँस गाउँपालिकाले सिना बाट सिद्ध टोपी सम्म पदमार्ग निर्माण गर्न सके सिद्ध टोपीलाई पर्यटकिय गन्तव्यको रूपमा विकास गर्न सकिन्थ्यो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया