समयमै विद्युत् महसुल नतिर्ने सुदूरपश्चिमका १ हजार भन्दा बढी ग्राहकको लाइन काटियो

दार्चुला । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने सुदूरपश्चिमका १ हजार ३४२ ग्राहकको लाइन काटेको छ। गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा एक हजार ३४२ ग्राहकको लाइन काटेको हो।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामातहतका केन्द्रहरुले समयमा विद्युत् महसुल नतिर्ने उक्त संख्यामा लाइन काटेको जनाएका हुन् । लाइन काटिएका ग्राहकको बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ। असूलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरुको धमाधम लाइन काटिरहेका छन्। प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने जनाएको छ।

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ। मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ। यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ।

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।

प्राधिकरणले विद्युत महसुल बक्यौता असुलीलाई देशभरी अभियानकै रुपमा चलाइरहेको छ। विद्युत लाइन काटेर करिब ५० करोड रूपैयाँ असुल गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?