दार्चुला । दार्चुलामा रहेको राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुन जात्राको लागि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले दुई दिन स्थानीय विदा दिने निर्णय गरेका छन् । राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुन (मल्लिकार्जुन) मा मंसिर ९ गते शिखर धुरामा पुजन जात्रा र १० गते मालिकार्जुन मन्दिरमा जात्रा लाग्ने भएको छ ।
मालिकार्जुन मन्दिरमा चतुर्दशीका दिन लाग्ने ऐतिहासिक रात्रिकालिन जात्राको लागि मंसिर १० र ११ गते मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाभरी स्थानीय विदा दिने निर्णय गरिएको सम्बन्धित स्थानीय तहहरूले सार्वजनिक सुचनामार्फत जानकारी गराएका छन् ।
मंसिर ८ गते बसेको कार्यपालिका बैठकले राष्ट्रिय धाम मालिकार्जुनमा लाग्ने जात्राको लागि १० र ११ गते दुई दिन विदा दिने निर्णय गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकाले समेत अत्यावश्यक सेवा बाहेक गाउँपालिकाभरी विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।
यस्तै मंसिर ९ गते त्रियोदशी तिथिमा शिखर धुरामा लाग्ने दिवाकालिन पुजन जात्रा र १० गते चतुर्दशी तिथिमा मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको आवश्यक तयारी गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । जात्रा व्यवस्थापनका लागि शान्ति सुरक्षा, बिद्युत, खानेपानी, हेल्थ डेस्क स्थापना लगायतका व्यवस्थापकीय कार्यहरु गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
दार्चुलाको मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको मालिकार्जुन धामको प्रचारप्रसार, संरक्षण/सम्बर्द्धन गरि यस क्षेत्रको गरिमा बढाउनमा भूमिका निर्वाह गर्न सबै श्रद्धालु भक्तजन र सरोकारवालाहरुलाई मालिकार्जुन गाउँपालिकाले अनुरोध गरेको छ । मन्दिरमा बिद्युत जडान, खानेपानीको व्यवस्थापन र हेल्थ डेस्क स्थापना लगायत काम शुक्रबार गरिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया