दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली पुगेका छन् । बुद्ध एयरको जहाजमार्फत ओली आज कैलालीको धनगढी पुगेका हुन् ।
१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आएका हुन् । अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पुगेका छन् ।
अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै छन् । भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।
१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।
यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया