हेलो ब्याँस सरकार ब्याँस जोड्ने पैदलमार्ग निर्माण गर्नु सिङ्गो राष्ट्रले सम्झनेछ

दिपक खाती, दार्चुला । प्राकृतिक दृष्टिकोणले सुनदेखि लसुन (बहुमुल्य जडिबुटी) फल्ने हिमालको भूमि भएको विकास र समृद्धिको लागि प्रचुर अवसर, सम्भावना बोकेको तर भौगोलिक दृष्टिकोणले अभाव, अविकसित र विकट देखिने हाम्रो व्याँस गाउँपालिका भारत र चीन संग सिमाना जोडिएको हुँदा सामरिक दृष्टिले र आफ्नो भिन्नै रहनसहन, भेषभुसा, बोली भाषा भएका नेपालको दार्चुलामा मात्रै बसोबास गर्ने व्याँसी सौका समुदायको बासस्थान भएकाले सामाजिक तथा सांस्कृतिक दृष्टिले सम्भावनायुक्त गाउँपालिका हो ।

विज्ञान र प्रविधिको आजको युगमा समेत हाम्रो गाउँपालिकाको एउटा गाउँबाट अर्को गाउँ जान आफ्नो देशको बाटो नहुदा बिदेशी भूमि प्रयोग गर्नुपर्ने, विदेशी भूमिबाट जादा बिदेशी सुरक्षाकर्मीको अभद्र र अमानवीय व्यवहार सहनु पर्ने बाध्यता छ । व्याँसको छाङरु, तिडकर जोड्ने पैदलमार्ग निर्माण गर्ने जिम्मेवारी दायित्व स्थानीय सरकारको मात्रै नभएर संघ, प्रदेश सरकारको समेत भएपनि व्याँसको छाङरु, तिङकर जोड्ने बाटो नहुदाको पीडा कसैलाई दुख्दैन् । स्वर्गिय बहादुर सिह ऐतवालले पन्चायत कालमा निर्माण गरेको बाटोलाई अहिलेसम्म हरेक राजनीतिक दल र सत्ता संचालकहरुले व्याँसको छाङरु, तिङ्कर जोड्ने बाटोलाई आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर, ठेक्का दिएर कमाई खाने भाडो बनाएका छन् । त्यसैले २०७४ सालदेखि २०८० असारसम्म गाउँपालिकाबाट भुक्तानी भएका संघ, प्रदेश र स्थानीय सरकारको बजेटमा व्याँस जोड्ने बाटो निर्माण गर्न योजनाको उपभोक्ता समिति र ठेक्का पाएका ठेकेदारहरुले गरेको काम, गर्नुपर्ने कामको स्टमेट, प्राविधिकले गरेको मुल्यांकन र भुक्तानी रकम बारेमा गाउँपालिकाले एक विशेष छानबिन समिति गठन गरी छानबिन गर्न व्याँस गाउँपालिकासमक्ष माग गर्दछु ।

करोडौंको बजेट खर्च गर्दापनि बन्न नसकेको ब्याँस जोड्ने पैदलमार्ग निर्माणको लागि अहिले गाउँपालिकाले तदारुकता देखाएर ब्याँस जोड्ने पैदलमार्ग लाई गाउँपालिकाको गौरवको योजना बनाएर घोरेठो बाटो संचालनमा ल्याउन सके अहिलेका ब्याँसका जनप्रतिनिधिको कार्यकालको स्वर्णिम काम हुनेछ र सामरिक महत्त्वको ब्याँस जोड्ने पैदलमार्ग आफ्नो कार्यकालमा सुचारु गर्न सके ब्याँसका जनप्रतिनिधिलाई इतिहासले नबिर्सिने देशले सम्झिने छ । किनकि ब्याँसको घोरेठो बाटो ब्याँसको मात्रै नभएर सिङ्गो राष्ट्रको आवश्यकता हो ।

ब्याँस गाउँपालिकाको म एक जिम्मेवार नागरिक भएको कारणले पनि मैले गाउँपालिकाको आलोचक भन्दा समालोचक भएर सकारात्मक कुराको समर्थन प्रचारप्रसार गर्ने, खराब, गलत कुराको बिरोध गर्ने र बिकासको लागि आफ्नो सुझावसल्लाह दिनु आफ्नो धर्म ठानेर व्याँसको एक जिम्मेवार र सचेत नागरिकको हैसियतले मैले मिति २०८०/०६/१२ गते ब्याँस गाउँपालिका अध्यक्ष ज्यु लाई लिखित रूपमा तपसिलका सुझाव दिएको छु ।

१ – व्याँस जोड्ने बाटो र देशको माटोको लागि रु. १ दिनुस् अभियान संचालन सम्बन्धमा ।
भौगोलिक विकटताले ब्याँस जोड्ने पैदलमार्ग निर्माण गर्न निकै चुनौती र कडा चट्टान काटेर बाटो बनाउनुपर्ने भएकाले बजेट धेरै खर्च हुने र गाउँपालिकासंग सिमित स्रोत साधन हुने भएकाले सामरिक र स्वाभिमानका दृष्टिले महत्वपूर्ण भएको व्यांस जोड्ने पैदलमार्ग निर्माणको लागि ब्याँस जोड्ने बाटो र देशको माटोको लागि रु. १ दिनुस् भन्ने अभियान संचालन गरेर सम्पुर्ण ३ करोड देशभक्त नेपालीबाट एक एक रुपैयाँ सहयोग माग्दा ३ करोडको पुजि बन्छ जसले बाटो निर्माणको लागि चाहिने महत्वपूर्ण पक्ष आर्थिक पाटोको उपलब्धता हुन्छ । आर्थिक सहयोगको गाउँपालिकामा छुट्टै खाता संचालन खोलेर सहयोग रकम खातामा जम्मा गर्ने र गाउँपालिकामा कार्यरत कर्मचारी, पालिकाका जनप्रतिनिधिबाट विशेष सहयोग (कम्तीमा ५ दिनको तलव ÷बैठक भत्ता आदि) संकलन गर्ने ।

२. ब्याँस जोड्ने पैदलमार्ग निर्माण दल गठन ।
ब्याँस जोड्ने बाटो निर्माणको लागि अहिलेसम्म उपभोक्ता समिति र ठेकेदार कुनै न कुनै राजनीतिक दलसंग जोडिएको हुँदा शक्ति र सत्ताको आडमा राज्यको बजेट बाटो नवनाई (स्टमेट अनुसार नबनाउने÷टालटुल गर्ने÷बनाउनुपर्ने ठाउँमा नबनाएर क्वान्टिटी पुरा गर्न सजिलो ठाउँमा बनाउने जस्ता) खाने गरेको व्यापक र निरन्तर जनगुनासो आउने हुँदा अब व्याँस जोड्ने बाटो बनाउन उपभोक्ता समिति नबनाई ब्याँसका प्रत्येक वडाबाट १०/१० जना युवाहरू समेटेर गाउँपालिकाले कार्यविधि बनाई व्याँस जोड्ने पैदलमार्ग निर्माण दल गठन गरेर बाटो निर्माणको काम गराउने र पालिकाले सरकारले तोकेको दैनिक न्युनतम पारिश्रमिक दर अनुसार श्रमिक (कामदार) को खातामा ज्याला भुक्तानी गर्नुपर्ने साथै प्रत्येक श्रमिकको पालिकाले दुर्घटना बीमा बनाउने ।

३. बाटो निर्माण कार्यको निरन्तर अनुगमन गर्ने ।
ब्याँस जोड्ने बाटो निर्माण हुन नसक्नुको एउटा पक्ष अहिलेसम्म निरन्तर अनुगमन नहुनु पनि हो । निरन्तर अनुगमन नहुदा उपभोक्ता समितिले र ठेकेदारले स्टमेट अनुसार नबनाउने/टालटुल गर्ने/बनाउनुपर्ने ठाउँमा नबनाएर क्वान्टिटी पुरा गर्न सजिलो ठाउँमा बनाउने जस्ता काम गर्ने र काम सकिएपछि पालिकाबाट प्राविधिक बोलाएर आफुले अलि राम्रो काम गरेको ठाउँको मात्रै बाटो देखाएर पुरै बाटोको प्राविधिक मुल्यांकन गर्न लगाउने चलन रहेको हुँदा अब २ जना प्राविधिक निर्माणदल संगै काम भईरहेको ठाउँमा खटाउने र स्टमेट अनुसारको निर्माण सामग्री प्रयोग भए नभएको, काम भए नभएको रेखदेख गर्ने र कामको प्रगति दैनिकी गाउँपालिकामा जानकारी गर्न लगाउने ।

४. ठाउँ–ठाउँ निर्माण दलको क्याम्प राख्ने ।
समयमै बाटो निर्माण गरि निरन्तर बाटो सुचारु गर्न व्याँस गाउँपालिकाको वडा नम्बर २ को दुम्लिङ, थी, घाटिबगड र वडा नम्बर १ को पोलामा वर्ष भरिनै निर्माण दलको क्याम्प स्थापना गरेर बाटो निर्माण गर्न लगाउने र वर्षातमा बाटो भत्किने हुँदा तत्काल बाटो पुनःर्निर्माण गर्न त्यहाँ मान्छे पठाउन नसकिने हुँदा निर्माण दल बाटै बाटो सुचारु गर्न लगाउने ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?