दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार षड्यन्त्रपूर्वक हटाइएपछि देशको राष्ट्रियता र देशको स्वाधीनता कमजोर भएको दाबी गर्नुभएको छ । मध्यपहाडी राजमार्ग यात्रासँगै एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा दैलेखको राकम कर्णालीमा आयोजित आमसभामा अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाइयो । एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिकरूपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो । एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गइरहेको छ, त्यो झन् कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, भूमि फिर्ता आउँदैन, झन् मिचिने सम्भावना हुन्छ । आउँदो चार वर्षपछि एमालेको एकल बहुमतको सरकार बन्ने ओलीले दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा अनुसार काम भइरहेको बताउनुभयो । मध्यपहाडी राजमार्ग खुलेपछि पहाडी र दुर्गम गाउँ सुगम बन्दै गएको उहाँको भनाइ छ ।
ओलीले भोलि सोमवार मध्यपहाडी राजमार्ग छोडेर गुराँस गाउँपालिकाको भवन उद्घाटन गर्ने र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने जनसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
महाकाली—मेची यात्राका क्रममा आज आइतवार अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताउनुभयो । उहाँले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको जिकिर गर्नुभयो । उहाँले अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया