राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदै

दार्चुला । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।

प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने निर्वाचन आयोगले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यसैबिच नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टुङ्गो लगाएको छ । लामो छलफल र विवादकाबीच कांग्रेसले आज बिहान उम्मेदवार चयन गरेको हो । कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ ।

यस्तै, बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै, कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ । शेखर कोइराला पक्षले चारजना उम्मेदवार पाउनुपर्ने दाबी गरे पनि तीन जना पाएको छ ।

उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति जनाउनुभएको छ । केन्द्रीय समिति बैठकले अहिलेसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको थापाको भनाइ छ । यस्तै, मधेसमा मधेसी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीले पनि लिखित असहमति जनाउनुभएको छ ।

सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाको १९ सिटमा भागबण्डा टुंगो लगाएका थिए । सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने छ। एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको छ भने जसपालाई एक सीट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?