दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आजबाट सामाजिक सुरक्षा भत्ता वितरण शिविर सुरू भएको छ । लेकम गाउँपालिकाको वडा नम्बर ५ मा बैंकबाटै र बाकी पाँच वटा वडाहरूमा वडा कार्यालयमा शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको हो । सामान्य हिडडुल गर्न नसक्ने सामाजिक सुरक्षा भत्ता पाप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई वडा कार्यालयमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर सञ्चालन गरिएको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो ।
आज गाउँपालिका उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ६ का वडा अध्यक्ष हरिवहादुर साउद, वडा सचिव महेश जोशी, सुरक्षाकर्मी, बैंकका कर्मचारी र दुई जना शाखाका कर्मचारीहरुको उपस्थितिमा वडामै पुगेर ७५ जना महिला र २२ जना पुरुष गरि कुल ९७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका एमआइएस अपरेटर प्रकाशराज बिष्टले जानकारी दिनुभयो । बैंकको पहुचबाट टाढा–टाढा रहेको लाभग्राहीहरूलाई बैंकसम्म पुग्न अपठ्यारो भएको भन्ने गुनासो आएकोले गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरि लक्ष्मी सनराइज बैंक लेकम शाखासंगको समन्वयमा आजवाट शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष माधवी जोशीले गत मंसिर ११ गते लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लक्ष्मी सनराईज बैंकलाई शिविर सञ्चालन तथा सहजिकरणको लागी आवश्यक समन्वय गरिदिन पत्र पठाइएको बताउनुभयो । सो कुरा कार्यान्वयन गरि शिविर सञ्चालनमा सहयोग गरेकोमा उहाँले बैंक तथा गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, पुर्वअध्यक्ष परमानन्द जोशी, वडाअध्यक्षहरू लगायतको अनुरोध तथा सिफारिसका आधारमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको लक्ष्मी सनराइज बैंक लेकम शाखाले जनाएको छ ।
भोली पनी उचाकोटमै शिविर सञ्चालन हुने भएकाले सरोकारवाला ज्येष्ठ नागरिकहरुलाई समयमै उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिन अपिल गरिएको छ ।
लेकम गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरको समयतालिकासहितको सूचना रेडियो लोकदर्पणमार्फत समेत प्रसारण भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया