दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ दहका २५ वर्षीय उमेश कुवँर दुई जना प्रहरी माथि चक्कु प्रहार गरेर फरार भएका छन् । आइतबार दिउँसो डिउटीमा खटिएका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नालाई चक्कु प्रहार गरेर भागेका कुवँरको खोजि भइरहेको भएपनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उमेशले आफ्नै श्रीमती धनिशा कुवँरलाई कुटपिट गर्ने गरेको भन्दै प्रहरी कार्यालयमा निबेदन पुगेपछि प्रहरी टोली कुवँरको घरमा गएको थियो । घटनाको अनुसन्धानका लागि सामुदायिक प्रहरी केन्द्र बंगाबगरबाट उमेशको घरमा गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । चक्कु प्रहारबाट प्रहरी जवान डम्बर ठगुन्नाको आँखा र कानको तल्लो भागमा गहिरो चोट लागेको थियो । घाइते दुबै जना प्रहरीको जिल्ला अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेको बताइएको छ ।
गत भदौमा भागेर बिहे गरेका उमेश र धनिशाको झगडा हुदै आएको आफन्तजनले समेत बताएका छन् । उमेशले धनिशालाई पीटेर घरेलु हिंसा गरेको निवेदन समेत प्रहरीमा पुगेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरी टोली उमेशको घरमै गएको थियो । प्रहरीलाई चक्कु प्रहार गरेर भागेका उमेशको खोजि जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चक्कु प्रहार गर्ने कुवरमाथि ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गरिने बताइएको छ । प्रहरीका अनुसार उमेशलाई केही समय पहिले सुधार गृहमा समेत राखिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया