दार्चुला । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ ।
प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएपछि सच्याउन माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले निर्देशन दिएको हो ।
माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरि चौधरी (उत्सव) र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा केन्द्रीय कार्यालयको निर्देशनको अवज्ञा, पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने तथा कार्यकताहरूको मनोभावनाको विपरीत भएको भन्दै दलको नेता फेर्ने निर्णय सच्याउन भनिएको छ ।
संसदीय दलका नेता खगराज भट्टको जानकारी बिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रती ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।
शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो ।
संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोशजनक नभएको कारण देखाउँदै उनीहरुले यसअघि गत २१ पुसमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाउदै दल नेता र मन्त्री फेर्नुपर्ने आग्रह गरेका थिए ।
त्यही बेला बहुमत सांसदको भावनाअनुसार अघि नबढेमा संसदीय दलको विधानअनुसार निर्णय लिने चेतावनी दिएका बहुमत सांसदले दलको नेता परिवर्तन गरेपछि माओवादी सुदूरश्चिममा विवाद सिर्जना भएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया