
दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको आयोजना तथा मालिकार्जुन सामुदायिक संस्था (रेडियो लोकदर्पण) को सहजीकरणमा लेकम गाउँपालिकामा आजबाट चालु आर्थिक बर्ष २०८०।०८१ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनवाइ कार्यक्रम सुरू भएको छ । सार्वजनिक सुनवाइको पहिलो दिन आज वडा नम्बर ३ लालीमा वडा अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षतामा सार्वजनिक सरोकारका विषयमा गहन छलफल गर्दै कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा वडा अध्यक्ष थापा र वडा सचिव कमलापती पन्त जवाफदेहीवक्ता रहनुभएको थियो । कार्यक्रममा वडा नम्बर ३ लालीका पुर्व वडा अध्यक्ष एबं नेपाली कांग्रेस दार्चुलाका सहसचिव राजेन्द्र प्रशाद जोशी, एमाले जिल्ला सल्लाहकार परिषद अध्यक्ष अम्बादत्त जोशी, बीओपी लालीका प्रमुख शशस्त्र प्रहरी निरीक्षक ध्वज विक्रम शाही, इलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक डम्बर दत्त भट्ट, कृष्ण स्नातक क्याम्पस लालीका क्याम्पस प्रमुख केशव राज जोशी, लालीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर भण्डारी, वडाका जनप्रतिनिधी, समाजसेवी, सेवाग्राही नागरिक लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको खुल्ला छलफल सत्रमा टुजी टावर सञ्चालनमा ल्याएकोमा धन्यवाद व्यक्त गर्दै लाली ऐरपाली टावरलाइ फोरजी सेवामा स्तरोन्नति गर्न पहल गर्नुपर्ने, विद्युतमा थ्रि फेज धान्ने ट्रान्सर्फमर राख्नुपर्ने, महाकाली करिडोर सडक निर्माणको क्रममा मकन्ना क्षेत्रमा ठूलो क्षति भइरहेकोले क्षतीपुर्ती दिलाउन पहल गर्नुपर्ने, गोइलाड वर्थिङ सेन्टरमा कर्मचारी व्यवस्थापन गर्नुपर्ने, गोकुले लाली सडकको स्तरोन्नती गर्नुपर्ने, गिट्टी वालुवामा कर लगाउनुपर्ने, गोइलाडमा पानी धारा निर्माण गर्नुपर्ने, शेरा र रतौडामा पुल निर्माणको लागी पहल गर्नुपर्ने र सुशासन अभिवृद्धिको लागी पहल गर्नुपर्ने लगायतका सुझाव, सल्लाह, गुनासा तथा प्रतिक्रिया आएका थिए ।
कार्यक्रममा प्राप्त सुझाव तथा गुनासाहरुको सम्बोधन गर्ने क्रममा वडा अध्यक्ष सुरेश सिंह थापाले विद्युतिकरणको लागी थ्रि फेज सञ्चालन गर्न विद्युत कार्यालयलाई टेलिफोन गरेर थ्रि फेज जडानका लागि अनुरोध गर्नुभयो । महाकाली करिडोरले पुर्याएको क्षतिको लागि आवश्यक क्षतिपुर्ति ठेकेदारले दिनुपर्ने र भत्केका संरचना मर्मत गरिदिनुपर्ने त्यसका लागि समन्वय गर्ने धारणा राख्नुभयो । कार्यक्रममा उठेका सकारात्मक सुझाबहरू ग्रहण गर्दै अगामी दिनमा सुधार गरेर जाने अर्थात बाकी कामहरू प्राथमिकताका आधारमा गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
वडावाट यो वर्ष २७ वटा योजनाहरु छनोट गरिएको र सम्झैताको प्रक्रियामा रहेको वडा सचिव कमलापती पन्तले बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार लोकेन्द्र जोशीले गर्नुभएको थियो ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।