दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रमको उदघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराको अध्यक्षतामा कार्यक्रम उदघाटन भएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।
चार दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रमको अन्तिम दिन फागुन १३ गते नमुना गाउँ सभा सञ्चालन हुनेछ । राष्ट्रिय युवा परिषद २०७२, राष्ट्रिय युवा नीति २०७२ तथा युथभिजन २०२५ को मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भको रुपमा रहेका युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवालक्षीत उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न, युवाका मुद्दाहरुको बहस पैरवी केन्द्रको रुपमा विकास गर्न, युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउनका लागि यो कार्यक्रमले सहजता दिलाउने विश्वास गरिएको उहाँले बताउनुभयो ।
देशभरका सबै जिल्लाका एक/एक स्थानीय तहमा नमुना संसदको अभ्यासका लागि युवा परिषद्ले कार्यक्रम सञ्चालन गर्दै आएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नमुना संसदको अभ्यास भइरहेको हो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।