दार्चुला । दार्चुलामा विद्युतिकरणको काम धमाधम भइरहेको छ । विद्युत प्राधिकरणले प्रादेशीक कार्यालय अत्तरीया, दार्चुला वितरण केन्द्र खलंगा र चालु आर्थिक वर्षदेखि विद्युत प्रोजेक्टमार्फत जिल्लाभरी विद्युतिकरणको काम गरिरहेको हो । दार्चुलाका ९ वटै स्थानीय तहमा विद्युत लाइन विस्तार, मर्मत तथा विद्युतिकरणको काम भइरहेको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो ।

२८ हजार ४१७ परिवारको बसोबास रहेको दार्चुलामा १८ हजार बढी अर्थात झण्डै ६५ प्रतिशत घरधुरीमा बिजुली बलेको उहाँले बताउनुभयो । गत वर्ष ३५ सय ग्राहक थपिएकोमा चालु आर्थिक वर्षको हालसम्म १२ सय बढी घरधुरीमा विद्युतिकरण भइसकेको बताइएको छ । दार्चुलामा विद्युत प्रोजेक्ट लागु भइसकेकोले विद्युत वितरण केन्द्रको काम घटेको छ । यो वर्ष वितरण केन्द्र मार्फत पुरानो लाइन सुधार गर्न लामो स्पान भएको ठाउँमा ८८ पोल मेनलाइन र ८० पोल शाखा लाइनमा थप्नका लागि टेण्डर भएको छ । नयाँ विद्युत लाइन विस्तारको काम जिल्लाभरी प्रोजेक्टमार्फत भइरहेको छ ।

दुई वर्षभित्र जिल्लाभरी विद्युतिकरण गरिसक्ने लक्ष्यका साथ गत असारदेखि विद्युत प्रोजेक्टले काम थालेको हो । सबै पालिकामा पोल गाड्ने काम भइरहेको छ, उहाँले भन्नुभयो, किम्तडी, ठूलसैन, लटिनाथ लगायत स्थानमा विद्युत सामाग्री राखिएको छ । दार्चुलामा चालू आर्थिक वर्षको छ महिनामा ३७ किलोमिटर लामो ११ केभी प्रशारण लाइनमा तार विछाउने कार्य गरिएको छ । २४ वटा नयाँ ट्रान्सफर्मर राखेर उपभोक्ताको मिटरसम्म जडान गरिने १९ किलोमिटर शाखा लाइन पनि विस्तार गरिएको बताइएको छ ।

दार्चुला जिल्लाभरी हालसम्म २१५ ट्रान्सफर्मर जडान गरेर १८ हजार भन्दा बढी घरमा विद्युत वितरण गरिएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताउनुभयो । विद्युतिकरण हुँन बाँकी गाउँठाउँमा समेत विद्युतिकरणको काम सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् ।

साउनपछि २४ ट्रान्सफर्मर जडान
नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले छ महिनामा राष्ट्रिय प्रशारण लाइन विस्तार भएको क्षेत्रमा २४ नयाँ ट्रान्सफर्मर जडान गरेको छ । ५० केभीए क्षमताको एउटा, २५ केभीए क्षमताका १७ वटा र १५ केभीए क्षमतामा दुईवटा गरी २० वटा नयाँ ठाउँमा र चारवटा राखेकै ठाउँमा बढी क्षमताका परिवर्तन गरेर जिल्लाभरी २४ वटा नयाँ ट्रान्सफर्मर जडान गरिएको दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाको सुण्डमुण्ड, गोगने, धुलिगडा खेडा, रैचू, गाउँपालिका केन्द्र होपरीगाड र उडालुमा नयाँ ट्रान्सफर्मर राखिएको छ । अपिहिमाल गाउँपालिकाको ओखल र मकरीगाडमा, मार्मा गाउँपालिकाको चिउरानी, सार्सी, पत्थरकाडा र लटिनाथमा नयाँ ट्रान्सफर्मर राखिएको छ । दुहुँ गाउँपालिकाको तिमुरपाटा, जोशीगाउँ, फारा र गुना अफरेमा, महाकाली नगरपालिकाको शिवनगर र बबामा, मालिकार्जुन गाउँपालिकाको भगवतीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ ।

मालिकार्जुनको शंकरपुर र जोलजिवि, लेकमको केन्द्र रातामाटा र शैल्यशिखरको पनेबाजमा राखिएका ट्रान्सफर्मर परिवर्तन गरी बढी क्षमताका ट्रान्सफर्मर राखिएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताउनुभयो ।

विद्युत शवस्टेशन थपिदै
दार्चुलामा हाल शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाडमा गरी दुई वटा शवस्टेशन मार्फत विद्युत वितरण गरिएको छ ।

विद्युत प्राधिकरण प्रादेशीक कार्यालय अत्तरीयाले टेण्डर गरेर मार्मा गाउँपालिकाको सेलभिसामा शवस्टेशन निर्माण कार्य भइरहेको छ । यस्तै लेकम गाउँपालिकाको सिरोडामा शवस्टेशन निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो ।

दुहुँ, व्याँस क्षेत्रमा समेत एउटा शवस्टेशन राख्नका लागि जग्गा खोजि भइरहेको बताइएको छ । दार्चुलामा खलंगा वितरण केन्द्रसहित पछिल्लो समय मार्मा र लेकमको धुलेडीमा समेत उपशाखा थपेर जिल्लाभरी सात वटा कार्यालयमार्फत विद्युत सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?