दार्चुला । उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका हुन्। विशेष अदालतले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत सुनाएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय डा। खुसीप्रसाद थारु र राम बहादुर थापाको इजलासले रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा कटवाललाई आइतबार दोषी ठहर गरेको हो । कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना तथा ९ महिना कैद सजाय हुनेसमेत फैसला गरेको छ ।
सार्वजनिक सम्पत्तिको हिनामिना गरेको कसुरमा अख्तियारले २०७९ भदौ १६ गते उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालले आर्थिक वर्ष २०७८/०७९ मा स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरका रूपमा राखेको कागजी नियुक्ति तयार पारी तलब निकासा गराएका थिए । त्यसै गरी हुँदै नभएको काम भएको भनी खर्च देखाएको, भर्चुअल अनुगमन गरेको जिल्लामा अनुगमनमा गएको भनी बिल तयार पारी रकम बुझेको, विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल तयार पारेको र नक्कली सम्झौता गरेको लगायतको कसुरमा मुद्दा दायर भएको थियो ।
स्थायी शिक्षिका रहेकी उनकी पत्नीको नाममा कर्मचारी भनी कम्प्युटर अपरेटरको नाम राखे पनि उनको पत्नीले कहिल्यै काम गरिनन् । बरु कर्मचारी भन्दै पत्नीको नाममा नियुक्ति दिई आफैँले तलब बुझ्ने गरेको पाइएको थियो ।
त्यस्तै रजिष्ट्रार कटवालले बिग्रेर थन्किएर बसेको सवारीसाधनसमेत मर्मत गरेको भनी व्यवसायीसँग बिल लिएर भुक्तानी लिएको पाइएको थियो । त्यस्तै भ्रमण गरेको भनी मिति सच्याएर किर्ते गरी रकम भुक्तानी लिएको लगायतको आरोप रजिष्ट्रार कटवालमाथि लगाइएको थियो ।
सोही मुद्दामा विशेष अदालतले कटवाललाई आइतबार दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना र ८९ महिना कैद सजायको फैसला सुनाएको हो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।