दार्चुला । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिनुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिनुभएको थियो ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

मुख्यमन्त्री दाबीका लागि सभामुखको प्रयोग गर्नु असंवैधानिक भएको नेपाली कांग्रेसले बताएको छ । आइतबार अपराह्न मात्रै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोशी प्रदेशको नजीर स्मरण गराउँदै प्रदेश प्रमुखलाई पत्र बुझिउनुभएको थियो । उहाँको पत्रमा असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरिएको छ ।

यसैबिच गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गर्नुभएको छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?