
दार्चुला । दार्चुलाका विद्यालयहरुमा दिवा खाजा कार्यक्रमबाट विद्यार्थीसंगै किसानहरुले समेत प्रतक्ष लाभ प्राप्त गरिरहेका छन् । एक वर्षको अवधिमा दार्चुलाका दिवा खाजा कार्यक्रम लागु भएका ३३६ विद्यालयले किसानबाट एक करोड १७ लाख बढीको तरकारी किनेर विद्यार्थीलाई खुवाएका छन् । दार्चुलाका नौँ वटै स्थानीय तहका ३३६ विद्यालयका २१ हजार ७४८ बालबालिका यो शैक्षिक सत्रमा दिवा खाजा कार्यक्रममा समेटिएका थिए ।
एक शैक्षिक शत्रमा विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत दार्चुलाका नौ वटै स्थानीय तहका कृषकहरुले विद्यालयमा एक करोड १७ लाख ४३ हजार ९२० रुपियाँको तरकारी बिक्रि गरेको सहजीकरण संस्था सप्रोस नेपालका कार्यक्रम संयोजक कृष्णसिंह ठगुन्नाले जानकारी दिनुभयो । विश्व खाद्य कार्यक्रम अन्तरगत सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रममा मर्सिकोरको प्राविधिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा अगस्त २०२२ देखि दार्चुला जिल्लामा होम ग्रोन स्कुल मिल प्रोग्राम (एच जि एस एम पी) कार्यक्रम सञ्चालन भएको छ । २०८० बैशाख देखि चैत्र सम्मको तथ्याङ्क हेर्दा कार्यक्रम लागु भएका ३३६ विद्यालयका २१ हजार ७४८ विद्यार्थीका लागि १५६ दशमलब ५८ मेट्रीक टन तरकारी खरिद विक्रि भएको उहाँले बताउनुभयो ।
जस अन्तरगत सबभन्दा बढी दार्चुलाको शैल्यशिखर नगरपालिकामा २२ लाख ८६ हजार ९ सय रुपियाँको तरकारी खरिदविक्री गरिएको छ । त्यस्तै महाकाली नगरपालिकामा १५ लाख ६१ हजार ६८० रुपियाँ, नौगाड गाउँपालिकामा १७ लाख ८१ हजार ४६० रुपियाँ, मार्मा गाउँपालिकामा १६ लाख २३ हजार ७८० रुपियाँ, लेकम गाउँपालिकामा ११ लाख ४१ हजार ५६० रुपियाँ, मालिकार्जुन गाउँपालिकामा ११ लाख ९ हजार ७ सय रुपियाँ, व्याँस गाउँपालिकामा ८ लाख २६ हजार २ सय रुपियाँ, दुहुँ गाउँपालिकामा ७ लाख ६४ हजार १ सय रुपियाँ र अपीहिमाल गाउँपालिकामा ६ लाख ४८ हजार ५४० रुपियाँको तरकारी खरिदबिक्रि भएको सप्रोस नेपालको तथ्यांक छ ।
दिवा खाजामा कार्बोहाड्रेट, प्रोटिन, भिटामिन तथा खनिज पदार्थको मिश्रण गरिएको छ । विद्यालयमा जाने बालबालिकाहरुको स्वास्थ्यमा सुधार ल्याउनुका साथै पोषणको परिपुरक तत्वका रुपमा रहेको दिवा खाजा कार्यक्रममा बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थी समेटिएका छन् । नयाँ शैक्षिक सत्र २०८१ मा कक्षा सातका विद्यार्थी समेत यो कार्यक्रममा समेट्ने सरकारको लक्ष्य रहेको छ ।
प्रति विद्यार्थीलाई प्रतिदिन ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, २ ग्राम नुन, ४० ग्राम तरकारी गरी १ सय ५२ ग्रामको मात्रामा दिवा खाजा वितरण गरिदै आएको छ ।
अहिलेसम्म तरकारी किसानबाट किन्ने र चामल, दाल, नुन र तेल खरिद गरेर दिने गरिएकोमा नयाँ शैक्षिक सत्रको साउन अर्थात जुन महिना देखि दाल समेत स्थानीय स्तरमा उत्पादन भएको प्रयोग गर्ने र किसानबाटै खरिद गर्ने योजना रहेको छ । तरकारी सहकारी संस्था वा समुहहरुसंगको सहकार्यमा विद्यालयहरुमा वितरण गरिदै आएको थियो ।
विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यार्थीको उपस्थिति बढ्नुका साथै विद्यालय क्षेत्रमा प्रयोग हुदै आएको पत्रुखाना (जंकफुड) को प्रयोगमा समेत कमि आएको शिक्षकहरु बताउछन् । तरकारी उत्पादन किसानहरु समेत प्रतक्ष लाभांवित भएका छन् ।
अहिले सप्रोस नेपालले विद्यालय दिवा खाजा कार्यक्रमको प्रभावकारीता सम्बन्धि सरोकारवालाहरुसंग परामर्श बैठक तथा अभिभुखीकरण कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।