
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ धंकमा जन्मेका भरत सिंह महता पारा तेक्वान्दोमा राष्ट्रिय खेलाडी हुन् । जन्मिदै बायाँ हात नभएका भरत पारा तेक्वान्दो खेलाडीका रुपमा स्थापित हुन सफल भएपछि खेलकुद महासंघ दार्चुलाले एक औपचारीक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
खेलकुद महासंघ दार्चुलाका अध्यक्ष जगत साउँदको अध्यक्षता तथा पूर्वमन्त्री एबं नेकपा (एमाले) पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरि भरत महतालाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य प्रेम सिंह पार्टी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, सचिव उमेशराज जोशी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का प्रवक्ता मदन चन्द, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव श्यामराज अवस्थी, एमाले जिल्ला कमिटी सदस्य मोहनसिंह बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबं पूर्वमन्त्री ठगुन्नाले दार्चुलाबासी जनता, नेकपा एमाले र खेलकुद महासंघको तर्फबाट दार्चुलाको नाम देश विदेशमा चिनाउन सफल खेलाडी भरत महतालाई बधाईका साथै उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । सम्मान सानै भएपनि महत्तपूर्ण हुने र सम्मानले हौसला, आँट तथा साहस बढ्ने भएकोले मेहनती खेलाडी महतालाई सबैले सहयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । सम्मान कार्यक्रमको आयोजना गरेकोमा पूर्वमन्त्री ठगुन्नाले खेलकुद महासंघ जिल्ला परिवार र केन्द्रीय स्थायी कमिटी सदस्य जगतसिंह धामीलाई धन्यवाद व्यक्त गर्नुभयो । नगद ५ हजार पुरस्कार स्थायी कमिटी सदसय जगत धामीले सहयोग गर्नुभएको थियो ।
सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने महता हाल काठमाडौंको किर्तिपुरमा गाई र्फम सञ्चालन गरेर परिवार सहित बस्नुभएको छ । काठमाडौंको बसाईका क्रममा विभिन्न संघर्ष गर्नुपरेको र देशको नाम चिनाउन खेलमा समेत मेहनत गरिरहेको उहाँको भनाई छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।