
दार्चुला । दार्चुला, बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको चटारो छ । चैत महिनामा माइती पक्षले विवाहित छोरी बैनीहरुलाई भेट्ने चलन रहेकाले भिटौला जानेहरुको चटारो बढेको हो । चैत महिनामा छोरीबैनीहरुलाई भेट्ने प्रचलन अनुसार चैतको अन्तिम सातातिर भेटघाट गर्नेहरु बढेको मालिकार्जुन ४ ऐरिछानाका स्थानीय जितेन्द्र धामीले बताउनुभयो । भिटौला जाने चलन अनुसार छोरीबहिनीहरुको घरमा गएर भेटघाट गर्नेहरु बढेका उहाँले बताउनुभयो ।
चैत महिना लागेसंगै शुरु भएको भिटौलो अन्तिम चरणमा पुगेको छ । धेरैले आफ्नी दिदीबहिनी भेटिसकेका छन भने छुटेकाहरु चैत भित्रै पुग्ने कोशिसमा छन् । माइती पक्षको नियास्रो मेट्नका लागि चैतको महिना मिठो मसिनो खानेकुरा लगेर भिटौला जाने चलन रही आएको उहाँले बताउनुभयो ।
यो महिनाको शुरुमा भेटघाट गर्न नपाएकाहरु चैतको अन्तिम साता लागेसंगै भेटघाटमा जाने र आउने क्रम बढेको छ । माइती पक्षले मिठामिठा परीकारहरु पकाएर छोरीबैनीलाई भेट्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार बिरभद्र जोशीले बताउनुभयो । पहिला पहिला घरमै पकाएका चिजवस्तुहरु लगेर भेटघाट गर्ने चलन रहेकोमा त्यो चलन भने फेरिएको छ । अहिले बजारबाटै सामग्रीहरु किनेर लैजाने गरेको पाइन्छ । भिटौलाको चलनले छोरा र छोरीबीचको विभेद अन्त्यका लागि समेत भूमिका खेलेको स्थानीय नन्द राज भट्टको भनाई छ । माइती पक्षले छोरीहरुलाई पनि उत्तिकै महत्व दिने गरेको कुरा यो संस्कृतिले सन्देश दिएको उहाँको भनाइ छ ।
वसन्त ऋतुमा माइती पक्षको सम्झना आउने र यो बेला माइती पक्ष पुगेमा नियास्रो मेटिने भएकाले परापूर्वकालदेखि यो संस्कृति चल्दै आएको बुढापाखाहरु बताउछन् ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।