दार्चुला । दार्चुलाबाट चीनको सीमा क्षेत्र ताक्लाकोट प्रवेशका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुमति पत्र वितरण सुरु गरेको छ । कोरोना महामारीका कारण विगत चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सीमा नाका तिंकर हुँदै ताक्लाकोट प्रवेशको लागि पास वितरण सुरु भएको हो । नाका खुलिनसकेको भएपनि सरकारबाट जिल्ला प्रशासनलाई प्राप्त निर्देशनको आधारमा पास वितरण सुरू भएको बताइएको छ ।

 

राजनीतिक दल र व्याँस गाउँपालिकाका स्थानीयको लामो प्रयासपछि सरकारले नाका खुलाउन प्रयास गरेपछि चार वर्षपछि पहिलोपटक पास वितरण सुरु भएको हो । बिहिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले दुई जनालाई प्रवेश अनुमति पत्र वितरण गर्नुभएको छ ।

 

दुबै देशबिच नाका खोल्ने सहमति भएपछि व्यवहारिक कार्यान्वयन थालिएको व्याँसका स्थानीय एबं सुदूरपश्चिमका पूर्वप्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले जानकारी दिनुभयो । दुवै देशको समन्वयमा आउजाउ गर्न खुलाउने उच्चस्तरमा समझदारी भएको  जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

 

गृह मन्त्रालयले पठाएको डिजाइनअनुसार जिल्लामै कार्ड छपाइ गरेर पास वितरण थालिएको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दा र नेपाली नागरिकता प्रमाणपत्र भएका व्यक्तिले पास पाउनेछन् । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार व्यापारका लागि तिब्बत जान ७९ जनाले सिफारिस लिएका छन् ।

 

दुवै देशको सहजीकरणको आधारमा अब ताक्लाकोट गएर व्यापार गर्ने बाटो खुला भएको छ । ताक्लाकोटमा मात्रै दार्चुलाका व्यासीहरुको झण्डै तीन दर्जन बढि पसलहरु रहेका छन् । नाका बन्द हुदा चार वर्षदेखि पसल बन्द रहेका थिए । लामो संघर्षपछि नाका खोल्न सहमति भएकोले ताक्लाकोटबाट व्यापार गर्ने बाटो खुलेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?