सुदूरपश्चिम सरकारको ६५ प्रतिशत बजेट खर्च गर्नै बाँकी

दार्चुला । आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी हुदा सुदूरपश्चिम प्रदेश सरकारको ६५ प्रतिशत बजेट खर्च गर्नै बाँकी रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेट मात्र खर्च गरेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो। सो अवधिमा प्रदेश सरकारले चालुतर्फ पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ पाँच अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी चार अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ। सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७१ करोड १८ लाख खर्च गरेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले छ करोड ६६ लाख खर्च गरेको छ। त्यस्तै, प्रदेश व्यवस्थापिकाले १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियोे। त्यसमध्ये चालुतर्फ ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड बजेट विनियोजन गरेको थियो। सरकार सत्ता निर्माणमै व्यस्त रहदा बजेट खर्चको अवस्था निरासाजनक रहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?