दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप डोटीको जोरायल गाउँपालिका १ बुडर नजिकै फडिनामा दुर्घटना हुँदा १ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने एक बालिकाको धनगढीस्थित निसर्ग हस्पिटलमा मृत्यु भएको छ । जिप चालकसहित ७ जना घाइते भएका छन् ।
लेकमकै लवदेब बोहराको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज विहान धनगढी जादै गर्दा डोटीको बुडर नजिक दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाउनेमा लेकम ४ का धौली धामी रहेको इप्रका बुडरले जनाएको छ । धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा ५ वर्षीया रितिका पार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले जानकारी दिनुभयो । अरु घाइतेको निसर्ग अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बुडरका बरिष्ठ प्रहरी नायव निरीक्षक धनन्जय कुमार मल्लका अनुसार जिप दुर्घटनामा घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक बाशुदेब नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की, निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र निजकै छोरी ५ वर्षीया रितिका पार्की, डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी रहेका छन् । घाइतेमध्ये रितिकाको मृत्यु भइसकेको बताइएको छ ।
धनगढीमा उपचाररत घाइते ७ जनामध्ये ३ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ । विहान ५ बजे घाइतेहरुको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको उहाँले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




