दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा विहिबार (आज) अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत गरिएको छ ।
शंकरपुरमा आयोजित १२ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष हिरासिंह धामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सेवा सहितको सुशासन, सुशासनसहितको विकास, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा सुखी र समृद्ध मालिकार्जुनको आधार भन्ने नाराका साथ सबै क्षेत्रलाई समेटेर नीति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी, सुशासन र सार्वजनिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उहाँको भनाई छ । हामीले भौतिक पुर्वाधार, आर्थिक र सामाजिक विकास, विपद् व्यवस्थापन, वन तथा वातावरण र सुशासन तथा संस्थागत विकास सबै क्षेत्रलाई समेटेर नीति कार्यक्रम ल्याएका छौँ, अध्यक्ष धामीले भन्नुभयो, नीति, कार्यक्रम सम्बोधन हुने गरी बजेट समेत पारित हुनेछ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका उपलब्धी समेट्दै अगामी वर्षको नीति कार्यक्रम थप परिष्कृत बनाएको बताएको छ । सामाजिक विकास अन्तरगत शिक्षामा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, नमुना विद्यालय विकास, प्राविधिक शिक्षामा लगामी, छात्रबृत्ति, हरेक विद्यालयमा योग कार्यक्रम लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । यस्तै स्वास्थ्यमा १० शैय्याको आधारभुत अस्पतालबाट सेवा सञ्चालनमा ल्याउने, गाउँघरमा स्वास्थ्य शिविरलाई निरन्तरता दिने, एम्बुलेन्स व्यवस्थापन कोष स्थापना गर्ने लगायत नीति ल्याएको छ । आर्थिक विकासका लागि कृषि, उद्योग, पर्यटन र स्वरोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति ल्याइएको अध्यक्ष धामीको भनाई छ । कृषि बाली र पशुपन्छिको बिमा, कृषिमा यान्त्रिकरण गर्ने लगायत नीति गाउँपालिकाले ल्याएको छ । खानेपानी तथा सरसफाइ, वन, वातावरण तथा विपद् व्यवस्थापन, भौतिक पुर्वाधार निर्माण लगायतका कामहरु समेत नीति कार्यक्रममा समेटिएका छन् ।
यस्तै मालिकार्जुन गाउँपालिकामा अगामी वर्षमा कुल ५७ करोड ९१ लाख ७४ हजार राजश्व तथा बजेट प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले उक्त बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो । अनुमानित बजेटको आधारमा चालु र पुजिगत खर्च समेत प्रस्ताव गरिएको छ । आवश्यक छलफलपछि बजेट पारित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




