दार्चुला । दार्चुलाका किसानले जल, मल र बिउँको अभावमा धान खेती फष्टाउन नसकेको गुनासो गरेका छन् । २१ औँ राष्ट्रिय धान दिवस २०८१ को अवसरमा जिल्लाको मालिकार्जुन गाउँपालिका–६ सलेतीमा आयोजित रोपाइँमा सहभागि किसानले सिचाँईका लागि प्रयाप्त पानी नहुदा धान रोप्न ढिलो भएको गुनासो गरेका हुन् । छेउमै महाकाली बगेको छ तर हामीलाई रोपाइँ गर्न पानी छैन, रोपाइँमा सहभागि किसान भागरथी अवस्थीले भन्नुभयो । उन्नत बिउँ, जल, मलका साथै रोग किराबाट बचाउन समयमै औषधी नपाउदा किसानले वर्षेनी ठूलो क्षति व्यहोर्नुपरेको उहाँको भनाई छ ।
जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ दार्चुलासहित देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । दार्चुलामा चार हजार ४८० हेक्टर जमिनमा धान खेती हुने गरेको र हालसम्म ५५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख शिद्धराज उपाध्यायले बताउनुभयो । किसानका समस्या समाधान गर्न कृषि ज्ञान केन्द्र र पालिकाहरुले काम गरिरहेको उहाँको भनाई छ ।
समयमा पानी नपर्दा अधिकासं किसानको खेत अझैपनि बाँझै छन् । आकासे पानीको भरमा धान खेती गर्दै आएका किसानहरु पानी नपर्दा चिन्तित बनेका छन् । खेतीपातीका लागि पर्याप्त पानी नपरेकै कारण धेरैजसो खेत अहिले पनि बाँझै रहेको लेकम गाउँपालिका–५ का किसान दिलेन्द्र भट्टले बताउनुभयो । रोपाइँ गरिसक्ने बेला समेत वर्षा नभएपछि खेत बाँझै छोड्नुपरेको उहाँको भनाई छ । मानो रोपेर मुरी फलाउने किसानको मेहनतलाई सम्मान गर्न पालिकाले कृषिलाई प्राथमिकतामा राख्ने गरेको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री बिष्टको भनाई छ ।
किसानका समस्या समाधान गर्नका लागि पालिकाले कृषि बिमा गर्ने, यान्त्रिकरण गर्ने लगायतको नीति ल्याएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उहाँको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया