दार्चुला । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पहिरोमा ११ जनाको मृत्यु
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । गुल्मी, बागलुङ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको हो ।
गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले मालिका गाउँपालिका–६, अर्जै कडेलपाटाका भेषबहादुर कामीको घरमाथिबाट ढुङ्गासहित लेदो पहिरो खस्दा पाँच जनाको पुरिएर मृत्यु भएको जनाएको छ । दुईतले जस्ताले छाएको घर पुरिँदा घरमा रहेका सबैको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीय श्रीमती सुन्तली कामी, २६ वर्षीय बुहारी सीता विक, आठ वर्षीय नातिनी सपना विक र आठ महिनाकी नातिनी विपना विकको मृत्यु भएको जानकारी दिनुभयो । घटनाको स्थलगत मुचुल्का तयार गरी पाँचै जनाको शवलाई गुल्मी अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तत्काल राहत र उद्धारका लागि जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कालीगण्डकी कोरिडोरको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को सीमा गरगरेमा सडकमाथि ठुलो ढुङ्गा खस्ने अवस्थामा रहेकाले चनाखो भएर यात्रा गर्न आग्रह गर्नुभएको छ ।
बागलुङको गलकोट नगरपालिका–८, काँडेबाँसको बिसौनामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर बेपत्ता ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीय वसन्ती विकको शव शनिबार दिउँसो पहिरो स्थलमा फेला परेको थियो । पहिरोमा परेर विककी बुहारी र नातिनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार घरदेखि माथिबाट खसेको पहिरोले विकको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–५, बाँगेमा पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एकतले घर र गोठ २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीय दुर्गा जिटी र उहाँकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले आमाछोरीको घटनास्थमलै मृत्यु भएको जानकारी दिनुभयो । देशभर सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया