दार्चुला । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित मधेश, लुम्बिनी र सुदूरपश्चिमका १/२ स्थानमा मुसलधारे वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।
काठमाडौँ उपत्यका र अन्य २३ जिल्लामा मध्यम जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी ३ दिन, बाढी, पहिरो, डुबान तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै महाशाखाले आवश्यक पूर्वतयारी गर्न आह्वान गरेको छ।
मनसुनी न्यूनचापीय रेखा आज रातिबाट अझै नेपालतिर सर्ने सम्भावना रहेको र भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून प्रणालीमा विकसित हुने भन्दै विभागले दुवै प्रणालीले गर्दा नेपालमा मनसुन सक्रिय हुने जानकारी दिएको छ।
शनिवार विहानसम्म सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया