दार्चुला । दार्चुलाको उत्तरीक्षेत्रमा पर्ने नेपाल–चीन सीमानाका टिंकर खुलेको छ । कोभिड–१९ फैलिएपछि बन्द गरिएको टिंकर नाका करिब पाँच वर्षपछि खोलिएको हो ।
केही दिन पहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएर नेपाली व्यापारीलाई ताक्लाकोट आउन भनेको व्याँस गाउँपालिका–१ का स्थानीय योगेश बोहराले बताउनुभयो । औपचारिक पत्राचार नभएपनि व्यासक्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको अनौपचारिक जानकारी मिलेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । छाङरू र टिंकरका केही स्थानीय ताक्लाकोट गएका छन् ।
टिंकरको छियालेकस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) ले टिंकर नाका भएर ताक्लाकोट आवतजावत गर्ने सबै नागरिकको अभिलेख राख्ने गरेको छ । छियालेकमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय पनि सञ्चालित छ । नाका बन्द हुँदा व्याँसका स्थानीयका ताक्लाकोटमा रहेका पशल पाँच वर्षदेखि बन्द रहेका थिए । लामो समयको पर्खाइ तथा पहलपछि नाका खुलेपछि स्थानीय खुसी भएका छन् ।
गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीहरूसंग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूले भिडियो कलमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए । उक्त छलफलमा असार ११ गतेदेखि नाका सञ्चालन हुने तय भएको थियो । केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले असार २६ गतेलाई नयाँ मिति पठाएका थिए । तर असार २६ गते पनि नाका खुलेन । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहण गरेको दिन असार ३१ गतेदेखि भने नाका खुला गरिएको छ ।
तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिंकर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गर्दै आएका छन् । यसका लागि पटकपटक राजनीतिक र प्रशासनिक नेतृत्वलाई अनुरोध गरिएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । टिंकर नाका परम्परागत रूपमा खुले पनि व्यास क्षेत्र र टिंकर नाका जोड्ने सडक निर्माणले भने गति लिएको छैन । प्रचण्ड नेतृत्वको सरकारले ल्याएको नयाँ बजेटमा टिंकर सडकलाई आठ करोड ५० लाख रुपियाँ मात्रै बजेट छुट्याइएको छ । सामरिक महत्तको टिकंर सडकमा बजेट न्यून भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको टिंकर सडकमा बजेट थप गरेर प्राथमिकताका साथ निर्माण गरिदिन व्याँस गाउँपालिकाले समेत नेपाल सरकारलाई अनुरोध गरेको छ । -गोरखापत्र

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया