दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका साउँन ६ गतेबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण शिविर शुक्रबार (आज) सम्पन्न भएको छ । वडा नम्बर ७ र ८ मा बैंकबाटै तथा अन्य छ वटा वडाहरुमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिएको मालिकार्जुन गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा प्रमुख एबं एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले बताउनुभयो ।
पालिकाका ६ वटा वडाहरुमा १५४ जना महिला तथा ८० जना पुरुष गरि कुल २३४ जना लाभग्राहिले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बुझेको उहाँले बताउनुभयो । सामान्य हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएका नागरिक, बैंक सम्म स्वयंम उपस्थित हुन नसक्ने लाभग्राहिहरुलाई वडास्तरबाटै भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न पाएपछि स्थानीय बृद्धबृद्धा तथा सेवाग्राहिहरु खुशी भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतेक त्रैमासिकमा वडा कार्यालयमा पुगेर भत्ता वितरण गरेको र अन्तिम त्रैमासिकको भत्ता वितरण कार्य आज सकिएको जनाएको छ । भत्ता बुझ्न बाँकी लाभग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक खातामा जम्मा भइरहने भएकोले जुनसुकै बेला पनि झिक्न पाउने बैंकले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया