दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा र काठमाडौंसहित देशका विभिन्न गाउँ शहरमा भव्यताका साथ गौरा पर्व मनाइएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ भएको सुदूरपश्चिमेलीहरूको महान तथा मौलिक पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँएको छ ।
दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लागेको छ । दार्चुलाको मालिकार्जुनमा सभ्य र भव्य ढंगले गौरा सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सुदूरपहाड पुर्ख्यौँली घर भई कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन्। आज गौरा विधिवत् ढंगले सम्पन्न भएपनि भोलिदेखि गौराकै अवसरमा विभिन्न मन्दिर तथा शक्तिपिठमा खेणी, धोणी, लमधोणी मनाउने चलन छ ।
सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवाल र नेपालकै कर्णाली, बाग्मती प्रदेशका विभिन्न जिल्लामा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ। गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारत लगायतका देशमा गएकाहरु फर्किएपछि गाउँघरहरु भरिभराउ भएका छन्।
पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुआत गर्दछन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिर वा गौराघरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ।
अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मन्दिरमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ। आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ। गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ।
बिरोडाले आजकै दिनदेखि शरीर तथा टाउको पुजन गरेर शुभआषिश दिने र बाकी रहेको बिरूडा भुटेर खाने चलन पनि रहेको छ । गौरा सकिएपनि भोलि खेणी, पर्सि, धोणी र त्यसपछि लमधोणीका नामले विभिन्न स्थानमा दिउँसो मेला जात्रा लाग्ने र दामाहा र डेउडा, ढुस्कु, धुमारीसंगै रमाउने चलन रहेको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया