दार्चुला । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–८ असिगाडा र भारत पिथौरागढ जिल्लाको छारछुम जोड्ने मोटरेवल पुलको स्थलगत निरीक्षण गर्नुभएको छ । पुल निरीक्षण तथा स्थलगत अवलोकनका क्रममा राजदूत श्रीस्तावले जति सक्दो चाँडो पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।
पुलको दुईटै साईडमा ट्राफिक जाँचको व्यवस्था हुने गरी संरचना र पहुँच मार्ग निर्माण गर्न दुवै देशका प्राविधिकको समन्वय हुनुपर्ने राजदुत श्रीवास्तवको भनाई छ । भारतीय पक्षले निर्माण गरिरहेको ११० मिटर लामो मोटरेवल पुलको काम धमाधम भइरहेको छ । पुल भारतीय कम्पनी पी एण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ । ३२ करोड ९८ लाख भारतीय रुपियाँको लागतमा पुल निर्माण भइरहेको बताइएको छ ।
पुल निर्माण सम्पन्न भएपछि सरकारी र नागरिकस्तरमा दुई देशको सम्बन्ध थप बलियो हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा टनकपुरपछि दार्चुलामा भारतसित जोड्ने दोस्रो मोटरेबल पुल निर्माण भईरहेको हो । भारतसित जोड्ने पहाडी जिल्लामा भने पहिलो मोटरेबल पुल असिगडामा बनिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
भारतीय लगानीमा बनेका भौतिक संरचना शिलान्यास, उद्घाटन र स्थलगत अवलोकनका राजदूत वा राजदूतावासका प्रतिनिधि आउने चलन रहेको छ । राजदूत श्रीवास्तव नेतृत्वको टोलीले दार्चुलामा बनेका पुल र विद्यालय अनुगमन गर्ने कार्यक्रममा रहेको पुल अनुमगनमा समेत सहभागी रहनुभएका प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
पुल अनुगमनमा राजदुतसंगै भारतका तर्फबाट पिथौरागढ जिल्लाका उपजिल्ला अधिकारी मन्जित सिंह, निर्माण कम्पनी पी एण्ड आरका प्रवन्धक दलवीर सिंह तथा नेपालका तर्फबाट जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, महाकाली करिडोर सडक योजनाका ईन्जिनियर दिपक बहादुर विष्ट, सुरक्षा निकायका प्रमुखहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




