दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । २१ औं निजामति सेवा दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरैभन्दा धेरै छलफल गरी चाँडै पास गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको भन्दै सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताउनुभयो । उहाँले तत्काल कर्मचारीको तलव बढाउन सक्ने अवस्था नरहेको पनि बताउनुभयो ।
यस्तै कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । यस्तै मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन आवश्यक रहेको बताउनुभएको छ ।
यसैबीच २१ औं निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ । १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले निजामती सेवा पुरस्कार प्राप्त गरेका हुन् । उत्कृष्टले निजामती पुरस्कार पाउने १० जनाले प्रतिव्यक्ति एक लाख र निजामती पुरस्कार पाउने ३० जनाले प्रतिव्यक्ति ५० हजार रुपैयाँ नगदसहित पुरस्कार पाएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया