एमालेद्वारा व्याँसमा शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट सम्पन्न (कसले के भने?)

दार्चुला । दार्चुलामा नेकपा (एमाले) ले सबै स्थानीय तहमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिरहेको छ । विहिबार दुहुँ गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको एमालेले शुक्रबार (आज) व्याँस गाउँपालिकामा पालिका स्तरीय कार्यक्रम सम्पन्न गरेको छ ।

व्याँस गाउँकमिटीद्वारा आयोजित बडादशैं, दिपावली, नेपाल संम्बद र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा गाउँकमिटी अध्यक्ष निर्मला धामीको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्यहरू नगेन्द्र तिंकरी, प्रेमसिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपाध्यक्ष परमानन्द जोशी, जिल्ला कमिटी सचिवालय सदस्य भगतसिंह ऐतवाल, व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी लगायत जिल्ला र पालिका स्तरीय नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।

शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने वक्ता र सहभागीहरूले चाडपर्वहरूको शुभकामना व्यक्त गर्दै पार्टी कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि मिलेर कार्यकर्ता र जनताका समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले दशैं, तिहार, छठ लगायत चाडपर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै कार्यकर्तालाई समाज र जनताको हितमा काम गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्नुभयो । “एमालेलाई जबसम्म एकल बहुमतसहितको बलियो राष्ट्रिय शक्ति बनाउन सक्दैनौं तबसम्म राष्ट्र र जनताका समस्या समाधान गर्न सक्दैनौं उहाँले भन्नुभयो, सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेको विकल्प छैन् ।” हरेक वडा र पालिकामा सक्रिय सदस्य बढाउदै एकढिक्का, बलियो र सुदृढ एमाले बनाउन उहाँले वडा र पालिका कमिटीलाई निर्देशन दिनुभयो । अनावश्यक कर्मचारी भर्ना गरेर रोजगारी दिन नसकिने बताउदै उहाँले स्वरोजगारी सिर्जनातर्फ ध्यान दिन सुझाव दिनुभयो ।

केन्द्रीय कमिटी सदस्य हरदेव जोशीले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै जनताका समस्या समाधान गर्न अध्यक्ष लगायत सबैले जिम्मेवारीपुर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश कमिटी सदस्य नगेन्द्र तिंकरीले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै जनआवश्यकता तथा चुनावी प्रतिबद्धता पूरा गर्ने गरि काम गर्न सुझाव दिनुभयो ।

प्रदेश कमिटी सदस्य प्रेमसिंह धामीले जनताबाट निर्वाचित सरकार जनताप्रति उत्तरदायी भएर प्रशंसायोग्य काम गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले पार्टी कमिटी र निर्वाचित जनप्रतिनिधिलाई सहकार्य बढाएर काम गर्न सुझाव दिनुभयो । शुभकामना आदानप्रदान, कार्यकर्ता भेटघाटसंगै कार्यकर्ताका भावना, चाहाना बुझ्दै पार्टीले थप कार्ययोजना तयार गर्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले जनता र जनप्रतिनिधिविच सुमधुर सम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले सिमित श्रोतबाट असिमित आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेकोले जनअपेक्षा अनुसार सन्तुष्ट हुने गरि काम हुन नसकेको स्वीकार गर्नुभयो । भ्रष्टाचार आफुले पनि नगर्ने र अरूलाई पनि गर्न नदिने तथा भएको श्रोत सार्वजनिक हित तथा जनताको पक्षमा बढी भन्दा बढी परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम समापन गर्दै एमाले व्याँस गाउँकमिटी अध्यक्ष निर्मला धामीले असम्भव प्रतिबद्धता जनप्रतिनिधिहरूले गर्न नहुने, आन्तरिक सहमति र पार्टी समन्वयमा जनप्रिय काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । एमाले जनताको पार्टी भएकोले जनताको समस्या समाधान गर्न सधै लागिपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?