
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका विभिन्न वडाहरुमा बालविवाह न्युनिकरणको लागी सचेतना मुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
गाउँपालिकाका वडा नम्बर १,३ र ८ लाई बालविवाह मुक्त वडा घोषणा गर्न लागिएको र त्यसैको पुर्व तयारी स्वरुप वडाहरुमा सचेतना मुलक अभिमुखिकरण कार्यक्रम गरिएको मालिकार्जुन गाउँपालिकाका महिला तथा बालवालिका शाखा प्रमुख आरती शर्माले जानकारी दिनुभयो । तथ्याङ्कगत विवरण अनुसार गाउँपालिकाको वडा नम्बर १ ३ र ८ मा बालविवाह भएको तथ्याङ्क नरहेकोले उक्त वडाहरुलाई यही पुष ८, ९ र ११ गते बालविवाह मुक्त वडा घोषणा गर्न लागिएको होे ।
गाउँपालिकाको वडा नम्बर १ मा पुष १ गते, वडा नम्बर ३ मा २ गते, र वडा नम्बर ८ बुधवार (आज) अभिमुखिकरण कार्यक्रम गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष केशर सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना रहनुभएको थियो । कार्यक्रमा वडा भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी तथा अभिभावकहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाको वडा नम्बर २ र ६ लाई गत बर्ष नै बालविवाह मुक्त वडा घोषणा गरिएको थियो भने यस बर्ष वडा नम्बर १, ३ र ८ लाई बालविवाह मुक्त वडा घोषणा गर्न लागिएको शाखा प्रमुख शार्मले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ४ र ७ लाई अगामी बर्ष बालविवाह मुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।