दार्चुला । दार्चुला- टिंकर सडक निर्माणको लागी हेलिकोप्टरबाट निर्माण साम्रगी ढुवानी गरिएको छ । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर २ कल्जु क्षेत्रमा रहेको कडा चट्टान फुटाउन हेलिकोप्टरबाट दुइटा कम्प्रेसर मेसिन ढुवानी गरिएको हो ।

सेनाको एनए ०६१ कलसाइनको लाइट (सानो) हेलिकोप्टरबाट पुष २२ गते कम्प्रेसर मेसिन ढुवानी गरिएका बताइएको छ । वडा नम्बर २ स्थित माल गाउँमा रहेका दुइटा कम्प्रेसर मेसिन हेलिकोप्टरमार्फत कल्जु गाउँमा ढुवानी गरिएको हो । दुइटा मेसिन ढुवानी गर्नका लागि सेनाको हेलिकोप्टरले आठ पटक कम्प्रेसर मेसिनका पाटपुर्जा खोलेर हेलिकोप्टरमार्फत ढुवानीका लागि तयार गरेको थियो ।

सेनाको लाइट हेलिकोप्टरले एकपटकमा ४ सयदेखि ५ सय क्वीन्टल वजन मात्रै ढुवानी गर्ने भएकोले कम्प्रेसर मेसिन खोलेर ढुवानी गरिएको हो । मेसिन ढुवानीका लागि सेनाको हेलिकोप्टर आइतवार साँझ सुन्सेरास्थित टिंकर सडक निर्माण आयोजनाको हेडक्वाटर पुगेको थियो । आइतवार राती सुन्सेरामा राखिएको हेलिकोप्टरले सोमवार दिनभरी आठपटक ओहोरदोहोर गरी मालगाँउबाट कल्जुक्षेत्रमा सामान ढुवानी गरेको हो ।

यसअघि मालगाउँ आसपासको क्षेत्रमा सडक निर्माणमा प्रयोग गरिएका कम्प्रेसर मेसिन अहिले कल्जुक्षेत्रमा ढुवानी गरिएको हो । हाल मालगाउँ आसपासको क्षेत्रको सडक निर्माण भइसकेको छ । महाकाली नदी किनार क्षेत्रको साघुरो खोच भएकोले कल्जु गाउँ छेउमा हेलिकोप्टरबाट मेसिन ढुवानी गरिएका छन् । कल्जु गाउँबाट सडक निर्माणस्थल एक घण्टाको पैदल दूरीमा रहेको छ । कम्प्रेसर मेसिनका पाटपूर्जा खोलिएकाले कल्जुगाउँबाट भरियामार्फत सडक निर्माणस्थलमा ढुवानी गरिनेछ ।

मालगाउँबाट कल्जुसम्मको दूरीमा करिब १० किलोमिटर रहेको छ । हाल सेनाले तुषारपानीदेखि मालगाउँ हुँदै दुम्लिङसम्मको क्षेत्रमा सडक खोल्ने कार्य गरिरहेको छ । दुम्लिङभन्दा अगाडि आकतुङती र तम्बाकु क्षेत्रमा पनि सडक निर्माण कार्य भइरहेको छ । तम्बाकु र आकतुङती क्षेत्रको बीचमा पर्ने कल्जुक्षेत्रमा सडक निर्माण गर्न मेसिन ढुवानी गरिएका हुन् । त्यसक्षेत्रमा कडा चट्टान भएकोले विस्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्न कम्प्रेसर मेसिन ढुवानी गरिएका हुन् ।

नेपाली सेनाले चालू आर्थिक वर्ष २०८१ /८२ मा १८ सय मिटर सडक निर्माण र १२ सय मिटर सडकको स्तरोन्नती गर्ने लक्ष्य राखेको छ । सडकको नयाँ ट्रयाक निर्माण लक्ष्य पूरा गर्न दुम्लिङदेखि तम्बाकुसम्मको क्षेत्रमा काम भइरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?