दार्चुला । पूर्वमन्त्री गणेश सिह ठगुन्ना सहितको टोलीले दार्चुला टिंकर सडकको स्थलगत अनुगमन गरेका छन ।
दार्चुला टिंकर सडक संगै व्याँस गाउँपालिका–१ छाङ्गरु–दुम्लीङ जोड्ने गरी निर्माण गर्ने तयारी थालिएको घोडेटो बाटोको बारेमा पूर्वमन्त्री ठगुन्ना सहित गाउँपालिका अध्यक्ष मंगल सिंह धामी लगायत गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरिक्षण सुरु गर्नुभएको हो । नेपाली सेनाले निर्माण गरिहेको दार्चुला टिंकर सडकको तुसरपानि देखि माथिको क्षेत्रमा स्थलगत निरिक्षण भइरहेको व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामीले बताउनुभयो ।
नेपालकै बाटो भएर व्याँस गाउँपालिका–१ छाङ्गरु–दुम्लीङ पैदलबाटोको अवस्थाबारे बुझ्न पुर्वमन्त्री ठगुन्ना सहित गाउँपालिका अध्यक्ष र प्राविधिक टिमले आज तुसरपानि देखि दुम्लीङ सम्म अनुगमन गरेको उहाँले बताउनुभयो । हिजो बसेको सर्बदलिय सर्वपक्षीय भेलाले नेपालतिर बाटो खोल्नुपर्ने र त्यसको लागि दुम्लीङदेखि बयलधारसम्मको अवस्थाबारे निरीक्षण गरेर तीन दिन भित्र प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार एमालेका पोलिटव्यूरो सदस्य समेत रहनुभएका पूर्वमन्त्री ठगुन्ना सहित जनप्रतिनिधि र प्राविधिक टोलिले बाटो निरिक्षण थालेको प्रवक्ता धामीले बताउनुभयो । टोलिले तीन दिन भित्र बाटोको स्थलगत निरीक्षण गरि प्रारम्भिक सम्भाव्यता प्रतिवेदन पेश गर्ने छ । अर्थमन्त्रालयले दुम्लीङ–छाङ्गरु जोड्न भन्दै ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
व्याँस क्षेत्रमा घोडेटो बाटो समेत नहुँदा त्यस क्षेत्रका नागरिक जिल्ला सदरमुकाम आवत जावत गर्न भारतको बाटो प्रयोग गर्दै आएका थिए । जिल्ला सदरमुकाम सम्म आउन समेत भारतीय प्रशासन संग अनुमति लिनुपर्ने नागरिकको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पुर्व मन्त्री ठगुन्ना सहितको टीमले सक्रियता देखाए पछि यक्त क्षेत्रमा घोडेटोबाटो निर्माण हुने भएको हो ।
नेपालको आफ्नै भूगोलमा हिड्न बाटो नहुनु निकै लज्जाको विषय भएकोले आफ्नै घर जान भारतको अनुमति लिनुपर्ने अवस्थाको अब अन्त्य हुने पूर्वमन्त्री ठगुन्नाको भनाई छ । साथै देशभक्त र माटोप्रति माया भएका सबै नागरिकलाइ बाटो निर्माणको लागी सहयोग गर्न पनि पूर्वमन्त्री ठगुन्नाले आग्रह गर्नुभएको छ।





प्रतिक्रिया