दार्चुला । प्रेस चौतारी नेपालको २७औं स्थापना दिवस दार्चुलामा पनि मनाइएको छ । प्रेस चौतारी नेपाल दार्चुलाले जिल्ला अस्पताल दार्चुलाका बिरामीलाई फलफूल वितरण र शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका २२ जना बिरामीलाई स्याउ र अंगुर वितरण गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश सचिव नरेन्द्रसिंह कार्कीको प्रमुख आतिथ्यतामा खलंगामा उपलब्ध पत्रकारहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको छ ।

फलफुल वितरण र शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखसहित कर्मचारी र सञ्चारकर्मी पत्रकारहरूको सहभागीता रहेको थियो ।
नेपालमा २०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल पत्रकारको हक, हित र पेशागत तथा भौतिक सुरक्षाका लागि क्रियाशील रहेको प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीले बताउनुभयो । स्थापना दिवसको अवसरमा प्रेस चौतारी आफ्नो उद्देश्य अनुसार श्रमजीवी प्रगतिशील पत्रकारको हक, हित र सुरक्षाका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया