दार्चुला । दार्चुलाका ब्याँस गाउँपालिका वडा नम्बर २ मालगाउँमा गाडी पुगेको छ। नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला टिंकर सडक अन्तरगत ब्याँस गाउँपालिका वडा नम्बर २ मालगाउँमा पहिलो पटक गाडी पुगेको हो ।
दार्चुला टिंकर सडकको (जिरो प्वाईन्ट)ब्याँस गाउँपालिका वडा नम्बर ३ तुसरपानी देखि ३ किलोमिटर सडक स्तरोन्नती गरि मालगाउँ सम्म गाडी पुगेको ब्याँस गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता उपेन्द्र सिंह धामीले बताउनुभयो ।
गाउँपालिकाको तुसरपानी सम्म यस अघि नै गाडी पुगेको थियो । अहिले मालगाउँ सम्म सडकको स्तरोन्नती गरि शुक्रबार पहिलो पटक नेपाली सेनाको गाडी पुगेको उहाँले बताउनुभयो । “सबैको अथक प्रयासले मालगाउँमा पहिलो पटक गाडी पुगेको छ। अबको १-२ महिना भित्रै वडा नम्बर २ को दुम्लीङ सम्म गाडी पुर्याउने लक्ष्य छ” प्रवक्ता धामीले भन्नुभयो ।
मालगाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेको पनि उहाँले बताउनुभयो । नेपाली सेनाले पहिलो पटक जिप र ट्याक्टर पुगाएको हो । सेनाको गाडी पुग्दा स्थानीयहरुले फुलमाला सहित नेपाली सेनाका गाडी चालक र निर्माण क्षेत्रमा खटिएका सैनिकहरुलाई स्वागत गरेका छन्।





प्रतिक्रिया