लेकमका चार वटा वडामा सार्वजनिक सुनवाई सम्पन्न, भोलि ५ र ६ मा कार्यक्रम गरिने (विस्तृत)

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका चार वटा वडाहरुको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलवार (हिजो) वडा नम्बर १ र २ मा कार्यक्रम सम्पन्न भएकोमा बुधवार (आज) वडा नम्बर ३ लाली र वडा नम्बर ४ खरकडामा चालु आर्थिक वर्षको हालसम्म वडाहरूबाट प्रवाह भएका सेवा, सुशासनको अवस्था र विकास निर्माणका योजना कार्यक्रमबारे छलफल तथा संवाद गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीले सार्वजनिक सरोकारको विषयमा सुझाब, सल्लाह, गुनासो र प्रश्नहरू राख्नुका साथै जवाफदेहीवक्ताहरूले आवश्यक प्रतिबद्धता र जवाफ दिएका थिए । वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रममा वडाअध्यक्ष सुरेश सिंह थापाको अध्यक्षता तथा प्रहरी निरीक्षक ईश्वर थापा, वडा सदस्यहरू, वडा सचिव कमलापती पन्त, कर्मचारी, सशस्त्र प्रहरीका सहायक हवल्दार ईन्द्र बहादुर बोहरा, समाजसेवी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा (एमाले) वडा कमिटी अध्यक्ष तारा दत्त अवस्थीले सामुहिक योजनाहरूमा बजेट विनियोजन गर्नुपर्ने, कर्मचारी व्यवस्थापन गरिनुपर्ने लगायत सुझाव दिनुभयो । स्थानीय गोपालसिंह बिष्टले लाली उमरगाडको लिफ्ट खानेपानी योजना सञ्चालन हुनुपर्ने माग गर्नुभयो । तेज सिंह मार्कण्डले महाकालीको गिट्टी बालुवा संकलन व्यवस्थित गरि राजश्वको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । जानकी सार्कीले गोइलाड गाउँको खानेपानी समस्या समाधान गरिनुपर्ने र बाघले बाख्रा खाएकोले राहतको लागि पहल गरिदिनुपर्ने माग गर्नुभयो । जगतसिंह पुजाराले किम्तडको खानेपानी समस्या समाधान गरिनुपर्ने, सिचाइ सुविधाका लागि सहजीकरण गरिनुपर्ने माग गर्नुभयो । वडा सदस्यहरूले रतौडा र राइचकसम्म विद्युत पुर्याउनुपर्ने, सडक व्यवस्थित गरिनुपर्ने, समयमै योजना कार्यान्वयन गरिनुपर्ने र पालिका केन्द्रबाट बैंङ्किङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याएका छन् । वडा अध्यक्ष थापाले पुर्वाधार निर्माण, सेवा प्रवाहमा विभिन्न काम भएको बताउदै कार्यक्रममा प्राप्त सुझाव अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभएको कार्यक्रमका सहजकर्ता तथा रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

त्यस्तै लेकम–४ खरकडामा वडा अध्यक्ष महेन्द्र राज जोशीको अध्यक्षतामा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा लेकम गाउँपालिकाका शिक्षा अधिकृत केशव राज ओझा, पशु शाखा प्रमुख थानेश्वर बोगटी, वडा सचिव देव गिरी, गल्लाकेदार मावि खरकडाका प्रध्यानाध्यापक श्रवण कुमार चौधरी, वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारी, स्थानीय सेवाग्राही लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो । कार्यक्रममा वडा सचिव देव गिरीले वडाको बस्तुस्थिति विवरण प्रस्तुत गरेकोमा सरोकारवालाहरुको प्रश्नको जवाफ वडाअध्यक्ष महेन्द्र राज जोशीले दिनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) का पूर्व वडा कमिटी अध्यक्ष एंव जिल्ला समिति सदस्य विशन दत्त पन्तले नयाँ संरचना निर्माण गर्दा पुराना संरचनाहरु ध्वस्त पार्न नहुने सुझाव दिनुभएको छ । स्थानीय धनी गिरीले खानेपानीको समस्या रहेको क्षेत्रमा तत्काल व्यवस्थापन गर्न माग गर्नुभएको छ । नन्दराज जोशीले वडाले पशु र कृषिमा आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने माग राख्नुभएको छ । अर्का स्थानीय गणेश सिंह कुवँरले वडाभित्र विषयगत शिक्षकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्युतिकरणको लागी थप पहल गर्नुपर्ने लगायतका सुझाव दिनुभएको छ ।

कार्यक्रममा उठेका गुनासाको सम्बोधन र सुझाबमाथि वडाअध्यक्षबाट प्रतिबद्धता गराइएको कार्यक्रमका सहजकर्ता दुर्गा दत्त मिश्रले बताउनुभयो ।  लेकमको वडा नम्बर ४ मा चालू आर्थिक वर्षमा ४० लाखका ३६ वटा योजनाहरुको सम्झैता भएको वडा सचिव देव गिरीले जानकारी दिनुभयो ।

लेकम गाउँपालिकाको वडा नम्बर ५ र ६ मा बिहीबार (भोलि) सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा उपस्थितिका लागि सरोकारवाला सबै कार्यालय र संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधि उपभोक्ता समिति, स्थानीय नागरिक लगायत सबैलाई अनुरोध गरिएको सहजकर्ता लोकेन्द्र जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?